प्रधानमन्त्रीले जनयुद्धका पूर्व कमाण्डरहरुको भेट, समस्या समाधान गर्न आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनमुक्ति सेनाका पूर्व कमाण्डरहरुले भेटघाट गर्नुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार  पूर्व कमाण्डरहरुले भेटगरी प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीले जनयुद्धताका पूर्व कमाण्डरहरुले दिनुभएको योगदान, त्याग र बलिदानको प्रसंशा गर्नुभयो । “जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति हाम्रो सम्मान छ” प्रधानमन्त्री ओलीले सो अवसरमा भन्नुभयो । भेटमा पूर्व कमाण्डरहरुले आफूहरु पीडामा रहेकाले समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो ।

तत्कालीन नेतृत्वले तपाईरूका भावनाको दुरूपयोग गरेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “तथ्य बुझेर तपाईहरु जुन निष्कर्षमा आइपुग्नु भयो, यो एकदमै सही छ ।” छलफलमा प्रधानमन्त्री ओलीले पूर्व कमाण्डरहरुको समस्या बास्तविकरुपमा सरकारले सम्बोधन गर्ने बताउनुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

“तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा भएजस्तो धोका पाउनुहुने छैन“ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

हिजो शुक्रबार आयोजित जनसभामा तत्कालीन जनयुद्धका नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका घाइते, अपाङ्गता भएकाहरुको पीडा आफूलाई मात्र थाहा भएको र अरुले समस्या समाधान गर्न नसक्ने अभिव्यक्ति दिनुभएको थियो । –रासस


ताजा खबर