राष्ट्रिय महिला लिग : वालिङ र बिराटनगरले बराबरी खेले

वालिङ नगरपालिका र बिराटनगर महानगरपालिकाबीचको महिला फुटबल खेल १–१ को बराबरीमा सम्पन्न भएको छ ।

राष्ट्रिय महिला लिग अन्तगर्त बिहीबार सम्पन्न खेलमा वालिङ र बिराटनगरले बराबरी खेलेको हो ।

खेल सुरु भएको दोस्रो मिनेटमै वालिङका लागि सम्झना शर्माले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले हिमा रावतको कर्नर किकलाई गोलको दिशा दिनुभयो । बराबरी गोलका लागि बिराटनगरले खेलको ६८ औं मिनेटसम्म कुर्नुपर्यो । भारतीय खेलाडी आशा कुमारीको फ्रि किक गोलमा परिणत भएपछि बिराटनगरले खेल १–१ को बराबरीमा पुर्यायो ।

शुक्रबारका लागि निर्धारित एक मात्र खेलमा चौदन्डीगढी नगरपालिकाले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।


ताजा खबर