अमेरिकी राष्ट्रपति बाइडेनलाई विश्व नेताहरुको बधाई

संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्व नेताहरुले उहाँको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिनुभएको छ ।

विगत चार वर्ष डोनाल्ड ट्रम्प प्रशासनका उतारचढाब झेलेका देशका नेताहरुले डेमोक्रेटिक पार्टीबाट निर्वाचित बाइडेनले सुझबुझपूर्ण व्यवहार गर्ने विश्वास लिनुभएको छ ।

युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिकेलले राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई ट्वीटमार्फत बधाई दिँदै भन्नुभएको छ, “युरोपेली युनियन र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुनेछ ।”

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भन डर लियेनले भन्नुभएको छ, “नयाँ बिहानी, नयाँ शुरुआतका लागि युरोप तयार छ ।” इरानका राष्ट्रपति हस्सन रौहानीले पनि ट्रम्पको पलायनबाट आफूहरु खुशी भएको बताउनुभएको छ । उहाँले आणविक विषयलाई लिएर इरानमाथि ट्रम्पको कार्यकालमा लगाइएका आर्थिक नाकाबन्दीहरु फुकुवा हुने विश्वास व्यक्त गर्नुभएको छ ।उहाँले भन्नुभयो, “बाइडेन प्रशासनले गत चार वर्षमा इरानमाथि गरिएका अपराधलाई हटाउन मद्दत गर्ने विश्वास लिएका छौं । इरानसँग भएको आणविक सम्झौतामा अमेरिका पुनः फर्किने हामीले आशा गरेका छौं ।”

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले दुई देशबीच लामो समयदेखि जारी मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नुभएको छ । उहाँले भिडियो सन्देशमार्फत भन्नुभएको छ, “अमेरिका–इजरायल सम्बन्धलाई थप गति प्रदान गर्न आफ्नो मुलुक तयार छ । इजरायल र अरब मुलुकहरुबीच शान्ति कायम गर्ने प्रयास थप विस्तार हुने तथा इरानका तर्फबाट उत्पन्न त्रासलाई साम्य बनाउने चुनौतीलाई मिलेर सामना गर्न इजरायल प्रतीक्षारत छ ।”

नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गले उत्तर अमेरिका र युरोपबीचको मित्रता हाम्रो सुरक्षाको आधार हो, र बलियो नेटो युरोप र अमेरिका दुबैका लागि हितकर रहेको छ भन्नुभएको छ । उहाँले नेटोका गठबन्धन मुलुकहरुले चीनको तीव्र विकास, अफगानिस्तान र इराक समेतमा आतंकवादको चुनौती तथा रसियाका गतिविधिमाथि विचार गर्न मिलेर जानुको विकल्प नरहेको बताउनुभयो ।

पोप फ्रान्सिसले राष्ट्रपति बाइडेनलाई विश्वभर “भाइचारा र शान्ति” लाई प्रवर्धन गर्न आग्रह गर्नुभएको छ ।

रसियाली राष्ट्रपतिको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले संयुक्तराज्य अमेरिकासँग साँचो अर्थमा मित्रवत सम्बन्ध स्थापना गर्न रसिया तयार रहेको बताउनुभएको छ । रसियाली विदेश मन्त्रालयले जारी गरेको अर्को विज्ञप्तिमा हतियार नियन्त्रण सम्बन्धी आगामी वार्तामा बढी नै रचनात्मक पहल अमेरिकी नेतृत्वबाट प्रस्तुत हुने जनाएको छ ।

जर्मनीकी चान्सलर एन्जेला मर्केलले जर्मन–अमेरिकी मित्रता र सहयोगमा नयाँ अध्याय शुरु हुने अपेक्षा गरिएको भन्दै बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्नु भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले ट्वीट गर्दै भन्नुभएको छः “अमेरिकी जनताका लागि यो विशेष अवसरका लागि बधाई र उत्तरोत्तर प्रगतिको कामना ।”

उहाँले भन्नुभयो, “हामी सँगै, साथमा छौं । हाम्रो समयका चुनौतीको सामना गर्न हामी अझ बलियो हुनेछौं । हाम्रो पृथ्वीको रक्षा गर्न अझ बलियो हुनुपर्नेछ । पेरिस सम्झौतामा पुनः स्वागत छ ।” डोनाल्ड ट्रम्पसँग निकै हिमचिम रहेको भनी आलोचित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि बाइडेनसँग निकट सम्बन्ध राखेर कार्य गर्न चाहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “कोभिड विरुद्धको संघर्ष, जलवायु, प्रतिरक्षा, सुरक्षा हाम्रा साझा मुद्दा हुन् । विश्वमा प्रजातन्त्रको प्रवर्धन र रक्षा गर्नु हामी दुबै मुलुकको लक्ष्य नै हो ।” क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि कोरोनाभाइरस, जलवायु परिवर्तन र आर्थिक पुनरुत्थानजस्ता मुद्दामा राष्ट्रपति बाइडेनसँग मिलेर कार्य गर्न आफू तयार रहेको बताउनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै भन्नुभएको छ, “संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिको शपथ लिनुभएकामा आफ्नातर्फबाट बाइडेनलाई न्यानो बधाई । भारत–अमेरिका रणनीतिक सम्बन्धलाई थप बलियो बनाउन म तयार छु ।” जापानका प्रधानमन्त्री योशिहिदे सुगा र दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले पनि राष्ट्रपति बाइडेनलाई कार्यकाल सफलताको बधाई दिँदै आ–आफ्ना मुलुकसँग अमेरिकाले पुरानो मित्रता यथावत् रहने र थप सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।

कुवेत, कतार, बहराइन, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरुले पनि बाइडेनको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई सन्देशहरु पठाउनुभएको छ ।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले यस क्षेत्रमा शान्ति र स्थायित्वका लागि बाइडेनसँग मिलेर कार्य गर्न आफू अधैर्यपूर्वक प्रतीक्षा गरिरहेको बताउनुभएको छ ।


ताजा खबर