प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट ‘हेर्दाहेर्दै’मा

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दै बिहीबारका लागि तय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले रिट निवेदक तर्फका कानुन व्यवसायीहरूको बहस जारी रहेकाले अर्को सुनवुवाई हेर्दाहेर्दैमा बिहीबारका लागि तोकेको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि जारी विषय केन्द्रित बहसमा आज चौथो दिन रिट निवेदक तर्फबाटै छ जना कानुन व्यवसायीले बहस गर्नुभएको थियो ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.चन्द्रकान्त ज्ञवाली, अधिवक्ता अनिता जोशी मानन्धर लगायतले संविधानमा भएको व्यवस्थालाई ध्यान राखेर न्याय निरूपण गर्नुपर्ने बहस गर्नुभयो ।

रिट निवेदनमाथिको बहस लम्बिने देखिएपछि संवैधानिक इजलासले कानुन व्यवसायीहरूका लागि आजदेखि समय निर्धारण समेत गरिदिएको छ ।

आजको सुनुवाइ प्रारम्भ हुनुअघि प्रधानन्यायाधीश जबराले सुनुवाइमा सहभागी कानुन व्यवसायीलाई बहसको समय आधा घण्टा निर्धारण गर्नुभएको थियो ।

संवैधानिक इजलासमा भइरहेको बहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने विषयले वैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनुवाइ भइरहेको छ । –रासस


ताजा खबर