राष्ट्रिय महिला लिग फुटबल आजदेखि

राष्ट्रिय महिला लिग फुटबल आजदेखि शुरुहुँदै छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा शुरुहुन लागेको लिगको दशरथ रंगशालामा दिउँसो २ बजे उद्घाटन हुने छ ।

उद्घाटन खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुने छ । उद्घाटन खेल आज दशरथ रंगशालामा भए पनि अरु खेलहरु भने ललितपुर सातदोवाटोस्थित एन्फा मैदानमा हुने छन् । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टिमको सहभागीता रहेको छ ।

शसस्त्र प्रहरी बलको एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लबका साथै चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।  महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न ब्यवस्था गरिएको छ ।

प्रतियोगितोको विजेता टोलीले १० लाख प्राप्त गर्दा दोस्रोले ८ लाख , तेस्रोले ५ लाख , तथा चौथो टोलीले ३ लाख प्राप्त गर्ने एन्फाले जनाएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार प्राप्त गर्ने पनि एन्फाले जनाएको छ । –रासस


ताजा खबर