साविक विजेता पुलिस पहिलाे खेलमा पराजित

साविक विजेता नेपाल पुलिस क्लव प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नै पराजित भएको छ । पुलिस बागमती प्रदेशसँग सात विकेटले पराजित भयो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २९ ओभर तीन बलमा एक सय ११ रनमा अलआउट भयो । राम्रो सुरुवात गर्न नसकेको पुलिसले ३२ रनमा पहिलो विकेट गुमायो ।

त्यसपछि ४७ रनमा दोस्रो विकेट गुमाएको पुलिसले ६६ रन बनाउँदा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि उसका मध्यक्रमका खेलाडीविच दरिलो साझेदारी हुन सकेन । जसका कारण उसले एक सय दुई रन बनाउँदा ६ विकेट गुमायो । त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन । जसका कारण १११ रनमा अलआउट भयो ।

पुलिसका लागि सुनील धमला र कुशल भर्तेलले समान १७–१७ रन बनाए भने दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले पनि समान २१–२१ रन बनाए । तर अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । अमित श्रेष्ठ ६ रनमा आउट भए भने कप्तान मञ्जित श्रेष्ठ पाँच रनमा पेभेलियन फर्किए ।

बलिङमा तिलक भण्डारी र नन्दन यादवले चार चार विकेट लिए भने रामनरेश गिरीले दुई विकेट हात पारे ।

जवाफमा बागमतीले ३४ ओभर चार बलमा तीन विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

बागमतीले पनि सुरुवात भने राम्रो गर्न सकेन । आठ रनमा पहिलो विकेट गुमाएको उसले २८ रनमा दोस्रो र ३५ रनमा तेस्रो विकेट खेर फाल्यो । उसका ओपनर आकाश थापा एक रनमा आउट भए भने आदिल खान १२ रनमा पेभेलियन फर्किए ।

यस्तै पारस खड्काले १७ रन बनाउँदा आउट भए । तर इशान पाण्डे र पृथु बास्कोटोले टिमलाई जित दिलाए । उनीहरुले चौथो विकेटका लागि ७९ रनको साझेदारी गरे । जसमा पृथुले अविजीत ४८ रन बनाए भने इशानले १७ रनको योगदान गरे ।


ताजा खबर