त्रिभुवन आर्मीकाे लगातार दोस्रो जित, कर्णाली ८० रनले पराजित

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले लगातार दोस्रो जित निकालेको छ । आजको आर्मीले कर्णाली प्रदेशलाई ८० रनले हरायो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभर एक बलमा एक सय ९५ रनमा अलआउट भयो । उसका लागि ओपनर ब्याट्सम्यान अनिल मण्डले शतक बनाउनबाट मात्र ११ रनले चुक्न पुगे ।

मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आर्मीका लागि ओपनरका रुपमा आएका मण्डल ८९ रनमा आउट हुन पुगे । उनलाई यूनीस सिंहले बोल्ड गरेका थिए ।

मण्डलले एक सय १४ बलमा १४ चौका प्रहार गरेका थिए । यस्तै कप्तान विनोद भण्डारीले ४१ रन बनाए भने राजेश पुलामीले १६ र लोकेश बमले १३ रन बनाए ।

पहिलो खेलमा जीत निकालेको आर्मीले सुरुवात भने राम्रो गर्न सकेन । मात्र एक रन हुँदा पहिलो विकेट गुमाएको आर्मीले २७ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि ४२ रन हुँदा तेस्रो विकेट गुमाएको उसका लागि विनोद भण्डारी र मण्डलले चौथो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । उनीहरुले एक सय १५ रनको साझेदारी गर्दै टिमको पारीलाई सम्हालेका थिए ।

तर विनोद आउट भएपछि टिमका अरु खेलाडीविच दरिलो साझेदारी हुन सकेन । उसले ३८ रन हुँदा बाँकी सबै विकेट गुमायो । बलिङमा कर्णालीका लागि दिनेश अधिकारी, राज शाह र दिवन पुनले दुई दुई विकेट लिए ।

जवाफमा कर्णाली प्रदेश ३३ ओभर तीन बलमा एक सय १५ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा कप्तान रविन्द्र शाहीले सर्वाधिक ३० रन बनाए भने हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीले १२ रन बनाए । बाँकी खेलाडी एकपछि अर्को रुपमा आउट भए ।

उसले पनि आठ रनमा पहिलो विकेट गुमाउँदा ८२ रन पुग्दा पाँच विकेट खेर फालेको थियो । कर्णालीलाई सस्तैमा रोक्नका लागि सुसन भारीले चार विकेट लिए भने रोहित पौडेलले दुई तथा साहब आलमले तीन विकेट लिए ।


ताजा खबर