पारदर्शी र प्रभावकारी सरकारी कामकालागि ‘नागरिक एप’ शुरु

सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले आज मन्त्रालयमा आयोजित समारोहमा ‘नागरिक एप’ शुभारम्भ गर्नुभएको छ ।

नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन सो एप परीक्षणका रुपमा ल्याइएको हो । सरकारको डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको जनाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सरकारी सेवालाई चौविसै घण्टा खुल्ला रहने गरी प्रविधिमैत्री बनाउन सरकारले पहल गरिरहेको बताउनुभएको छ ।

सरकारी सेवालाई एकिकृत माध्यमबाट उपलब्ध गराउने उद्देश्यले तयार पारिएको नागरिक एपको आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सार्वजनिक गर्नुहुँदै मन्त्री गुरूङले सरकारी सेवालाई बिदाको दिन तथा रातको समयमा समेत खुल्ला रहने गरी सबै नागरिको पहुँचमा पुर्याउन सरकारले काम गरिरहेको बताउनुभयो ।

सार्वजनिक परीक्षणका लागि सार्वजनिक गरिएको एपलाई आगमी ३ महिनाभित्रमा पूर्ण रूपमा काम गर्ने र विभिन्न सरकारी सेवाका लागि अनलाईन आवेदन दिन सकिने मन्त्री गुरूङले बताउनुभयो ।

नागरिक एपमार्फत् हेलो सरकार तथा अन्य सरकारी निकायमा गुनासो दर्ता गर्न र गुनासोको सुनुवाई भए–नभएको समेत जानकारी प्राप्त गर्न सकिने सकिने छ ।

एपले विभिन्न सरकारी निकायले जारी गरेका नागरिकता, राहदानी, मतदाता परिचयपत्र जस्ता सरकारी परिचय पत्र तथा विभिन्न शैक्षिक संस्थाले जारी गरेका प्रमाणपत्रको विवरण स्वचालित रूपमा प्रप्त गर्नसक्ने व्यवस्था गरिएको हुनाले यसबाट सेवा लिँदा कुनै कागज पत्र बुझाउनु वा विवरणहरू भर्न नपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी दिनुभयो । –रासस


ताजा खबर