नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक आज

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा हिजो विहिबार अपराह्न भारतको नयाँदिल्ली पुग्नुभएको छ । उहाँलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गर्नुभएको थियो ।

मन्त्री ज्ञवालीले आज शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नुहुनेछ ।

यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग उहाँकै कार्यकक्षमा हिजो शिष्टाचार भेट गर्नुभयो । त्यसअवसरमा उहाँहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

नेपाल र भारत दुवै पक्षले बैठकको पूर्वतयारीमा विविध कार्यसूचीका कार्यतालिका निर्माण तथा छलफलका विषयसूची तय गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल दिल्ली उत्रिएलगत्तै दुवै देशका कार्यदलले बैठकको म्यान्डेटअनुसार काम थालेको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले संयुक्त रूपमा अध्यक्षता गर्नुहुने संयुक्त आयोगको औपचारिक बैठकमा नेपाल–भारतसँग सम्बन्धित बहुआयामिक विषयमा छलफल हुने प्रवक्ता लम्सालले जानकारी दिनुभयो ।

नेपालले व्यापार, पारवहन, ऊर्जा तथा जलस्रोत सीमा विवाद र वार्ताको वातावरण, पूर्वाधार विकासमा साझेदारी, दुई देशीय सम्पर्क सञ्जाल विस्तार, लगानीमैत्री सहकार्य, कृषिमा दुई पक्षीय सहयोग, पर्यटनमा साझेदारी तथा दुई देशबीचको सांस्कृतिक सहकार्यका विषयमा पनि बैठकमा दुई देशका प्रतिनिधिमण्डलले बृहत् छलफल गर्ने गरी आफ्नो कार्यसूची दुई दिनअघि नै सार्वजनिक गरेको छ । भारतले बिहीबार बिहान कार्यसूची तथा बैठकका विविध गतिविधिबारे औपचारिक रूपमा वक्तव्य सार्वजनिक गरेको छ ।

बैठकमा गत २०७६ मा नेपालमा भएको पाँचौँ बैठकको सहमति र समझदारीमाथि आत्मविश्लेषण गर्दै प्रगति र असफलताको सूची छुट्टाइनेछ । विभिन्न समयमा दुई देशबीच उठेका विवादका विषयका सम्बन्धमा पनि बैठकमा छलफल हुने जनाइएको छ । प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन, कोभिड खोपमा साझेदारीजस्ता विषयका महìवपूर्ण सहमति हुने अपेक्षा मन्त्रालयको रहेको छ ।

भारतीय विदेश मन्त्रालयले जनाएअनुसार शुक्रबार बिहान ११ बजे परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करबीच भेटवार्ता हुनेछ । त्यसपश्चात् हैदरावाद हाउसमा संयुक्त आयोगको बैठक सुरु हुनेछ ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्विपक्षीय साझेदारीका विषयमा विशेष छलफल हुने भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जसले भविष्यमा राजनीतिक मार्गनिर्देश गर्नेछ । त्यस्तै अन्य विविध द्विपक्षीय विषयका कार्यसूचीमा छलफल हुनेछ । सीमा विवादको विषयमा पनि छलफल हुन्छ ? भनेर सोधिएको प्रश्नमा भारतीय विदेश मन्त्रालयले सीमा विवादको विषय सबैलाई जानकारीमा रहेको भनेर स्वीकार गरेको छ तर उसले यस विषयमा आयोगको बैठकमा कुरा हुन्छ वा हुन्न भन्नेबारेमा भने आफ्नो प्रस्टता प्रकट गरेको छैन् । संयुक्त आयोग र सीमा वार्ता दुई फरक संयन्त्र रहेको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताउनुभएको छ ।

संयुक्त आयोग नेपाल र भारतबीच गठित संयन्त्रमध्ये राजनीतिक तहको एक उच्चस्तरीय संयन्त्र हो । विगतका समयमा लामो समय यस आयोगको बैठक बस्न सकेको थिएन । सन् २०१५ यता भने यसले निरन्तरता पाएको हो । सन् २०१९ को बैठकपछि सन् २०२० मा कोभिड सङ्क्रमणका कारण यो बैठक पछाडि धकेलिएको हो । एक परराष्ट्रविज्ञका अनुसार यो बैठक नेपाल र भारतबीचको सम्बन्ध थप सुमधुर बनाउन निकै महìवपूर्ण छ । यस बैठकलाई दुई देशबीच सबै खालका विषयमा छलफल गर्ने अधिकार प्राप्त छ ।

बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली तीनदिने भ्रमणका क्रममा बिहीबार बिहान भारत प्रस्थान गर्नुभएको हो । उहाँ मध्याह्न भारतको राजधानी दिल्ली उत्रनुभएको थियो । परराष्ट्र सचिव भरतराज पौड्याल, मन्त्रालयस्थित भारत–नेपाल सम्बन्ध डेस्कका प्रमुख यज्ञबहादुर हमालसहित सरकारका उच्चाधिकारी नेपाली प्रतिनिधिमण्डलमा हुनुहुन्छ ।

भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नुहुनेछ । उहाँ शनिबार साँझ स्वदेश फर्कनुहुने कार्यक्रम छ । –रासस


ताजा खबर