निर्वाचन प्रक्रिया रोक्न आयोगलाई दाहाल-नेपालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले निर्वाचन प्रक्रियाका काम रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ।

अध्यक्षद्वय दाहाल र नेपालसहित केही शीर्ष नेताहरू निर्वाचन आयोग पुगेर निर्वाचन प्रक्रिया सम्बन्धी काम अगाडि बढाउँदा प्रतिनिधि सभा विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा प्रभाव पार्ने भएकाले निर्वाचन प्रक्रियाका काम रोक्न माग गरेका हुन्।

सर्वोच्च अदालतको अन्तिम फैसला नआउञ्जेल निर्वाचन प्रक्रियाका कार्यक्रम रोक्न माग गरिएको नेकपाका नेता लिलामणि पोखरेलले बताए।

साथै, आयोगमा रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग सम्बन्धित कागजातहरूको प्रतिलिपि पनि माग गरिएको नेता पोखरेलले बताए।

आयोगले निर्वाचन घोषणा भइसकेपछि मतदाता नामावली थपघट रोक्ने र स्थायी प्रकृतिको काम, मतदान केन्द्रहरू टुंगो लगाउने प्रारम्भिक काम मात्रै गरिएको, अन्य काममा प्रवेश नगरेको स्पष्ट पारेको थियो। –रासस


ताजा खबर