पर्वका विविधता हाम्रा बहुमूल्य सम्पत्ति हुन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्नुहुँदै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले थारू समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रको सुदृढ एकताको जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको चर्चा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था तथा राज्यको नीतिद्वारा नै हाम्रा सांस्कृतिक विविधताको रक्षा गरिरहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “देशका हरेक जातिले मनाउने मौलिक पर्वहरू प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् ।” उहाँले माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइने चर्चा गर्नुभएको छ ।

उहाँले थारू जातिमा पुस मसान्तमा घरघरमा माछा, मासु र ढिकरी पिठोको एक परिकार खाई रातभर ‘मघौटा’ नाच नाच्ने चलनसमेत रहेको बताउनुभएको छ ।


ताजा खबर