‘दक्षिण एसियाली देशहरुसँगै नेपालमा निःशुल्क खोप’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दक्षिण एसियाली देशहरु सँगसँगै कोरोना भाइरस विरुद्ध निःशुल्क खोप लगाउने व्यवस्था गरिएको जानकारी गराएको छ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सरकारले सम्पूर्ण सम्भावना खुल्ला गर्दै दक्षिण एसियाली देशहरु सँगसँगै नेपाली जनताले पनि निःशुल्क खोप लगाउने व्यवस्था गरिएको बताउनुभयो ।

मन्त्री त्रिपाठीले विभिन्न देशमा कुटनीतिक पहल मार्फत सरकार र सरकारकावीच समझदारीमा खोप ल्याउने पहल भइरहेको जानकारी गराउनुहुँदै खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने पनि स्पष्ट पार्नु भयो।

पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले खोप भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणको काम सकिएको र नेपाल खोप आएको हप्तादिनमा खोप लगाउने व्यवस्था मिलाइएको जानकारी समेत दिनुभयो।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सरकारले खोपको पूर्व तयारी, नीतिगत सुधार, १ करोड ७० लाख डोज खोपभण्डारणको लागि पूर्वाधार निर्माणको काम सकिएको र खोपका लागि आवश्यक रकमको समेत व्यवस्था भइसकेको जानकारी दिनुभयो।

मन्त्रालयले कोभिड १९ को संक्रमण दर घटे पनि जोखिम नघटेकोले मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न सबैमा आग्रह गरेको छ।


ताजा खबर