एन्फा पूर्व महासचिव लोकबहादुर शाहीको निधन

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलरक्षक तथा अखिल नेपाल फुटबल संघ-एन्फाका पूर्व महासचिव लोकबहादुर शाहीको ६५ वर्षको उमेरमा हिजो बेलुका निधन भएको छ ।

बिभिन्न रोगको संक्रमणबाट ग्रसिल उनको हिजो राती साढे ९ बजे दैलेखको चौडत्तास्थित पुर्ख्यौली घरमै निधन भएको परिबारका सदस्यलाई उदृत गर्दै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।
शाहीको अन्तिम इच्छा नै जन्मथलोमा पुगेर अन्तिम स्वास लिने भएकाले अन्तिम समयमा उनलाई जन्मस्थान लगिएको बताइएको छ । काठमाडौंबाट छोरा पुगेपछि उनको आजै अन्तिम संस्कार गरिने जनाइएको छ ।

लोकबहादुर शाही आधुनिक नेपाली फुटबलको सबैभन्दा स्तरीय गोलकिपर मानिन्छन् । सन् १९७९ देखि १९८९ सम्म एक दशक राष्ट्रिय टोलीमा नेपालको गोलपोष्ट संहालेका शाही सन् १९८४ मा नेपालमै आयोजना भएको पहिलो साफका स्वर्ण पदक विजेता खेलाडी हुन् ।

उनले सन् १९८४, १९८५, १९८७ र १९८९ गरी चारपल्ट साफ गेम्स खेलेका छन् । सन् १९८२ मा नवौं एसियाली खेलकुदमा पनि उनी नै राष्ट्रिय टोलीका गोलरक्षक थिए । त्यो प्रतियोगिता नेपाली फुटबलको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यसबाहेक उनले सन् १९८६ को विश्वकपका लागि नेपालमै भएको छनोट प्रतियोगितामा मलेसिया र दक्षिण कोरियासँग खेल्दा शाही नै गोलरक्षक थिए ।

सन् १९८९ मा राष्ट्रिय टोलीबाट विश्राम लिए पनि शाहीको फुटबलप्रतिको माया रोकिएन । २०४६ को जनआन्दोलन र राजनीतिक परिवर्तनको असर परेर लिग हुन नसकेको त्यो समयमा उनले नेशनल स्पोर्टस डेभलभमेन्ट एशोसियसन गठन गरी राष्ट्रिय खेलाडीहरुलाई भारतका बिभिन्न स्थानमा नकआउट प्रतियोगित खेल्ने प्रबन्ध मिलाएका थिए । जसले खेलाडीलाई आर्थिक भरथेग भएको थियो ।

त्यही संस्थाले नेपालको इतिहासमै पहिलोपल्ट निजी क्षेत्रको सहकार्यमा फुटबल प्रतियोगिता गरेको थियो । सन् १९९२ मा वाइवाइ कप फुटबल आयोजना गर्ने उनै शाही हुन् । उनलाई व्यवसायिक फुटबलमा निजी क्षेत्रको संग्लग्नताका लागि मुख्य सुत्रधार मानिन्छ ।

२०५२ साल असोजमा भएको एन्फा निर्वाचनमा गणेश थापा अध्यक्ष हुँदा लोकबहादुर शाही महासचिवमा निर्वाचित भएका थिए । त्यसपछिको २ कार्यकाल उनले महासचिवकै रुपमा विताए ।

२०६० सालमा उनी बक्सिङतिर गए र रविराज थापा नेपाल बक्सिङ संघको अध्यक्ष हुँदा शाहीले त्यहाँ पनि २ कार्यकाल महासचिवमा विताए ।

२०७० सालमा युवराज लामा सदस्यसचिव हुँदा नेपालमा आइस हकी संघको स्थापना भएको थियो । उनी त्यो संघका संस्थापक अध्यक्ष हुन् ।

शाही राष्ट्रिय प्रतियोगिता त्यतिबेलाको भेरी टिमबाट खेल्थे । पछि नेपाल पुलिसमा अनुबन्ध भएका थिए । पुलिसकै छात्रबृत्तिमा उनले भारतको देहरादूनबाट उच्च शिक्षा लिएका हुन् ।
पछिल्लो समय भने उनी विवादमुक्त हुन सकेनन् । २०७४ असारमा उनी ठगी आरोपमा पक्राउ परेका थिए । क्यानडा पठाइदिने भन्दै २० जनालाई ठगेको आरोप उनलाई लागेको थियो ।


ताजा खबर