‘तर्क वितर्क नगरौँ, चुनावमा जाऔँ ‘: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व चाहे पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएका कारण वर्तमान अवस्था सिर्जना भएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताले मुलुकमा राजनीतिक स्थिरता चाहे पनि सरकारलाई काम गर्न नदिने, स्थायित्व र स्थिरतातर्फ देशलाई अगाडी बढ्न नदिई जालझेल र अस्थिर बनाउँदै देशलाई अस्थिरतातर्फ धकेल्ने काम भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनताको म्याण्डेटअनुसार सरकार अघि बढिरहेको भए पनि बहुमतलाई खण्डित गर्ने, अनुचित र अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको स्पष्ट पार्नुभयो ।

उहाँले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्न दिएर देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचेको भए पनि सरकारलाई काममा बाधा उत्पन्न गरिएका कारण भारी मनका साथ ताजा जनादेशमा जाने निर्णय गर्नु परेको बुताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको संविधानको धारा ७६ (७) ले प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्नुहुँदै संविधानले तोकेबमोजिम गर्दा कुनै अस्थिरता नहुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्ने दलभित्रै चरम अस्वस्थ्यता र पार्टीका गुटगत भेला गरेर अस्थिरता फैलाउने काम गरिएको र तिनीहरूलाई नै नेतृत्व हस्तान्तरण गर्न आफु सहमत हुन नसकेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको जस्तो द्रुततर गतिमा विकास निर्माणका कामहरू कहिल्यै पनि नभएको बताउनुहुँदै वर्तमान सरकार गठन भएयता भूकम्पले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सिँचाई, सडक निर्माण, कृषिको आधुनिकीकरण, औद्योगिक क्षेत्र विकास तथा विस्तार लगायतका धेरै क्षेत्रमा काम भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्रसँग मित्रवत् सम्बन्ध विस्तार गरिएको स्पष्ट पार्नुहुँदै आफूले भारतसँगको विवाद समाधान गर्न पनि उल्लेख्य पहल गरेको बुताउनुभयो ।

उहाँले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले यही १४ जनवरीमा भारत भ्रमण गर्ने जानकारी दिनुहुँदै भ्रमणका क्रममा नेपालको नयाँ नक्सा लगायतका विषयमा छलफल हुने पनि जानकारी गराउनुभयो ।

प्रधानमन्त्री ओलीले कतिपयले नेपाल कै भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा बनाउँदा सम्बन्ध बिग्रिन्छ भने पनि सरकारले भारतसँग मित्रताका आधारमा छलफल भइरहेको र ती भूमि फिर्ता गरिने बताउनुभयो । –रासस


ताजा खबर