तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन हुने

निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पुर्याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ ।

उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्रालयले निर्यातगृह सञ्चालन सम्बन्धी कार्यविधि तयार पारी स्वीकृतीको क्रममा रहेको जनाएको छ ।

निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पुर्याउन सरकारले जोड दिनुपर्नेमा काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ ।

नेपाल रत्न तथा आभूषण सङ्घको सोह्रौँ वार्षिक साधारण सभाको शनिबार काठमाडौमा उद्घाटन गर्दै वन तथा भूसंरक्षणमन्त्री प्रेमबहादुर आलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने भएकोले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र आगामी तीन महिनामा निर्यातगृह सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले तीनवटै तहका सरकारबाट उद्यमी व्यवसायीलाई सहयोग हुनुपर्नेमा जोड दिँदै अन्तर सरकारी निकायबीच समन्वय नहुँदा निजी क्षेत्रले कहिलेकाहीँ झञ्झट झेल्नुपरेको दुःखेसो गर्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई उकास्न सरकारी स्तरबाट पनि केही सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताउनुभयो ।

सङ्घका अध्यक्ष ज्योत्सना श्रेष्ठले ८० प्रतिशतभन्दा बढी विदेशी कामदार रत्न तथा आभूषण व्यवसायमा रहेकाले स्वदेशीलाई सीपमूलक तालीम प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा सघाउन सरकारसँग आग्रह गर्नुभयो । –रासस


ताजा खबर