वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन

वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २:५० बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या देखिएको थियो। दशैँ अगाडि सामान्य कुराकानी गर्ने उनी दशैँ पछाडि धेरै बिरामी भएका थिए। पछिल्लो समय उनलाई चावहिलस्थित चिरायु अस्पतालमा राखेर उपचार गरिएको बताइएको छ।

उनका गीतमध्ये नारायण गोपालले स्वर दिएको ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाले स्वर दिएको ‘उदास मेरो प्रेम कथा’, ‘जीन्दगीको पाना भरि सुख भेटिँदैन’ नारायणगोपालको संगीतमा फत्तेमानले गाएको यो गीत शब्द, सङ्गीत र गायन तीनै हिसाबले नेपालको उच्चकोटीको गीत मध्ये पर्छ। भैरवनाथकै शब्द रहेको तारादेवीले गाएको गीत ‘अमर माया छाडेर जाने परदेशी आएन’ पनि चर्चित गीतमध्ये एक हो। यी लगायत उनका थुप्रै गीत लोकप्रिय छन्। यसका साथै उनका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन्।

वि.सं. १९९२ माघ ३ मा काठमाडौंको ठमेलमा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। –रासस


ताजा खबर