न्यायालयलाई सम्मान गर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र न्यायालयको सम्मान गर्न र विचाराधीन मुद्धालाई प्रभावित गर्ने अभिव्यक्ति नदिन सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल कम्युष्निट पार्टी नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेकपा निकट युवा संघले आज काठमाडौंमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै स्वतन्त्र न्यायलयको निर्णय प्रभावित गर्ने गरी अभिव्यक्ति नदिन राजनैतिक दल तथा नागरिक समाजका अगुवाहरूलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई बलियो बनाउन न्यायालयको स्वतन्त्रता र सर्वोच्चतालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा अर्को सरकार बन्ने विकल्प नभएपछि आफूले नयाँ निर्वाचनमा जाने निर्णय गरेको बताउनुहुँदै काम गर्न नसक्ने प्रतिनिधि सभा विघटन गर्ने निर्णयले लोकतन्त्र कमजोर हुन्छ भनी फैलाईएको भ्रममा नपर्ने समेत सबैलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको र आगामी बैशाख १७ र २७ गते नै निर्वाचन हुने पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले पार्टीको विधान तथा स्थापित मान्यताका आधारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिक समूह आफूहरू भएको र निर्वाचन आयोगबाट समेत सोही अनुसार निर्णय आउने बताउनुभयो ।

उहाँले गत निर्वाचनमा सहमतिका आधारमा सूर्य चिन्ह लिएर चुनाव लड्न आग्रह गर्दा अस्वीकार गरेका पुष्पकमल दाहाल प्रचण्डको समूहले आज सूर्य चिन्ह पाउँछ भन्नु हास्यास्पद हुने समेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विकासका योजनाहरू मार्फत तराई, पहाड र हिमाललाई जोड्ने गरी सरकारले काम गरिरहेको समेत बताउनुभयो । –रासस


ताजा खबर