विद्यार्थीहरुको सिकाईमा जीवन उपयोगी सिपको महत्व

~ सत्यराज जोशी

आजका विद्यार्थीहरुले हाम्रो भविष्यकालागि गरिएका प्रतिबद्धताहरुको प्रतिनिधित्व गर्दछन् । त्यसैगरि युवा विद्यार्थीहरुले समाज रुपान्तरणको अभिभारालाई साकार तुल्याउँछन् । युवा विद्यार्थीहरुलाई हाम्रो समाज रुपान्तरणको एक नवीन आयाम मान्न सकिन्छ । सिकारु अवस्थामा रहेका विद्यार्थीहरुलाई समाज र संस्कृतिका हरेक क्रियाकलापले विद्यार्थीहरुको सिकाइमा प्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ ।

आजको बदलिँदो भौतिक समाजमा युवा विद्यार्थीहरुलाई शारीरिक र मानसिक तवरले स्वस्थ रहने गरी सिकाइमा अभिप्रेरित गर्नु आजको चुनौती हो । यो चुनौतीलाई सामना गर्न उनीहरुलाई जीवन उपयोगी सिपहरुको बारेमा जानकारी गराउन आवश्यक देखिन्छ ।

पूर्व किशोर अवस्था समान्यतयाः १०–१४ वर्षसम्मको समयअवधिलाई मानिन्छ । यो समयावधि भनेको बाल्यकाल र किशोर अवस्था बीचको समय हो । यो समयावधि युवा विद्यार्थीहरुकोलागि महत्वपूर्ण समय मान्न सकिन्छ किनकि यो अवधिमा विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्धिक विकास अत्यधिक रुपमा हुने भएकाले त्यो समयमा युवा विद्यार्थीहरुलाई जीवन शिक्षाको विषयमा अभिभावक र शिक्षकहरुले जानकारी गराउनु आवश्यक देखिन्छ ।

त्यसैगरी जीवन उपयोगी शिक्षालाई युनिसेफले एउटा व्यावहारिक परिवर्तन अथवा व्यावहारिक पक्षको विकास गर्ने माध्यमको रुपमा लिएको छ । व्यक्तिको ज्ञान, दृष्टिकोण र सिपलाई व्यवहारिक विकासको आयामको रुपमा लिइएको छ । यसर्थ, जीवन उपयोगी शिक्षाले विद्यार्थीहरुलाई ज्ञानको रुपान्तरण गरी कुनै पनि क्षमतालाई के र कसरी गर्ने भन्ने जस्ता व्यावहारिक सिपहरुको समेत सफलता प्रदान गर्दछ ।

जीवन उपयोगी सिपहरुले विद्यार्थीहरुको मानसिक र सामाजिक पक्षलाई सबल बनाई उनीहरुको वास्तविक जीवनमा आइपर्ने समस्याहरुसँग उठेर जुध्न क्षमतावान बनाउँदछ । जीवन उपयोगी सिपहरुको विषयलाई लिएर विश्व स्वास्थ्य संगठनले जीवन उपयोगी सिपहरुलाई मुख्यतया १० वटा विद्याहरुमा विभाजन गरेको देखिन्छ । जस्तै, आत्म सजकता, सृजनात्मकता, सिर्जनात्मक सिप, निर्णय लिन सक्ने क्षमता, समस्याहरुको निराकरण, प्रभावकारी सञ्चार, वैयक्तिक सम्बन्धहरु र तनाव व्यवस्थापन जस्ता पक्षहरुलाई जीवन उपयोगी सिपका महत्वपूर्ण आयामहरु हुन् ।

यसै प्रशंगमा विकासवादी वैज्ञानिकहरुले पूर्वकिशोर अवस्था (१०–१४) वर्षलाई एउटा आलोचनात्मक अवधिको रुपमा लिएको देखिन्छ, जसले विद्यार्थीहरुमा सकरात्मक र नकरात्मक पक्षहरुको ज्ञान विकास गरी भैपरि आउने समस्याहरुको समाधानप्रति सजक गराउँछ ।

यसप्रकार जीवन उपयोगी सिपले विद्यार्थीहरुलाई आफ्नो बारेमा के थाहा छ, साथै विद्यार्थीहरुको वर–परका व्यक्तिहरुले वा साथी–भाइहरुले अथवा परिवारका सदस्यहरुले के भन्छन् होला भन्ने जस्ता अनुत्तरीत प्रश्नहरुको समेत ज्ञान गराउन मद्धत गर्दछन् । समग्रमा जीवन उपयोगी सिपले व्यक्तिको आत्म अध्ययन बारे पनि अध्ययन गर्न सहयोग गर्दछ ।

जस्तैः
मलाई आफ्नो बारेमा बोल्न मन लाग्छ कि लाग्दैन ?
मलाई मेरो संस्कृतिप्रति आफैमा किन गर्व लाग्छ ?
मानिसहरुले मेरो के मन पराउँछन् ? म आफैलाई मेरो कुन पक्ष मन पर्छ ?
भविष्यमा मलाई के कुराको चाहना छ ?
मैले पैसा कसरी खर्च गर्ने ?
साना–साना कुराहरु धेरै किन्ने कि मन परेको कुरा किन्नका लागि पैसा बचत गर्ने ?
म निराश भएको बेलामा के ले मद्दत गर्दछ ?
मेरो विचारमा मेरो सम्बन्धहरु र मित्रताहरुमा के कुरा चाहिँ बढी महत्वपूर्ण छन् ?
म के कुरामा राम्रो छु ? ‘म’ के कुरामा त्यति राम्रो छैन ।
भविष्यमा कलेजमा म कुन विषय लिएर पढ्न रुचाइरहेको छु, किन

यी अनेकन जीवन जिउने कला सम्बन्धीका प्रश्नहरु विद्यार्थीहरुको सिकाइमा प्रत्यक्ष रुपमा अर्थ राख्दछन् । यी कैयन अनुत्तरीत प्रश्नहरुले जीवन जिउने वा जीवन उपयोगी सिपको महŒवलाई दर्साउँदछ । जीवन उपयोगी सिपले विद्यार्थीमा सिकाइप्रति सकरात्मक दृष्टिकोणको विकास गरी सिकाइसम्बन्धी आइपर्ने चुनौतीहरुको दीर्घकालीन रुपमा समाधान गर्न क्षमतावान् बनाउन अभिप्रेरित गर्दछ । साथै नकरात्मक सोच र चुनौतीहरुको सवल निराकरण गर्न र समाजमा देखा पर्ने चुनौतीलाई रचनात्मक ढङ्गबाट समाधान गरी सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गराउन प्रेरणा प्रदान गर्दछ ।

यसरी समाजको सामाजिक, राजनैतिक, सांस्कृतिक, धार्मिक, साम्प्रादायिक जस्ता अनेकन मूलभूत सिकाइका विषयलाई सन्तुलित तवरले अनुकरण गर्न समेत विद्यार्थीहरुलाई हौसला प्रदान गर्न आवश्यक देखिन्छ ।

लेखक जोशी काठमाडौंको बाँसवारीस्थित द चाँदबाग स्कूलका शिक्षक हुन् ।


ताजा खबर