वायु प्रदुषणबाट बच्न आकस्मिक मापदण्ड अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वायु प्रदूषणका कारण जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै विभिन्न आकस्मिक मापदण्ड अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक प्रा.डा.जागेश्वर गौतमले केही दिन यता काठमाडौँ उपत्यकामा वायु प्रदूषण हुँदा श्वासप्रश्वासमा कठिनाइ लगायतका स्वास्थ्य समस्या देखा परेको जानकारी दिनुहुँदै जनस्वास्थ्यमा असर पर्न नदिन आकस्मिक मापदण्डहरू अपनाउन सबैमा आग्रह गर्नुभयो ।

प्रवक्ता प्रा.डा गौतमले जनस्वास्थ्यलाई मध्यनजर गर्दै केही दिनका लागि मर्निङ वाक तथा बाहिर गएर शारीरिक व्यायाम नगर्न, फोहोर जलाउने, घर बाहिर जाने, धुलो, धुवाँ उठ्ने किसिमका पेसा व्यवसाय रोक्न र अत्यावश्यक बाहेकको अवस्थामा सवारीसाधन नचलाउन आग्रह गर्नुभयो ।

यस्तै कोभिड तथा नन कोभिड सबै अस्पतालहरूले प्रदान गर्ने गरेका स्वास्थ्य सेवाहरूलाई नियमित गर्ने निर्णय भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।

मन्त्रालयले खोपको अनुगमन कार्यका लागि उच्चस्तरीय खोप अनुगमन समिति गठन गरिएको र सातै प्रदेशहरूमा खोप भण्डारण गर्न थप भण्डारण गृह बनाउने समेत निर्णय गरेको जानकारी प्रवक्ता प्रा.डा. गौतमले दिनुभयो ।

४ सय ९५ जना सङ्क्रमित निको, आज ४ सय ९ जनामा सङ्क्रमण पुष्टि
कोरोना भाइरसको सङ्क्रमणबाट आज ४ सय ९५ जना निको भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप ४ सय ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । देशभर ६ हजार ७ सय ६ वटा पिसिआर परीक्षण गर्दा २ सय ६५ पुरुष र १ सय ४४ महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ ।

सङ्क्रमित मध्ये गम्भीर लक्षण देखिएका १ सय ९७ जनाको आइसियु र ३० जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण आज थप ६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या १ हजार ८ सय ९९ पुगेको छ ।


ताजा खबर