राष्ट्रिय वाणिज्य बैंक र बेलबारी नगरपालिका बीच सहुलियतपूर्ण कर्जा सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र मोरङ स्थित बेलबारी नगरपालिका बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले हस्ताक्षर गर्नुभयो । 

सम्झौता पछि नगरपालिकाले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ अन्तर्गत उद्यम तथा व्यवसाय गर्न सम्भाव्य र इच्छुक समुहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने र तालिम प्राप्त उद्यमीरुको ५–५ जनाको समूह बनाई सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाका लागि बैंकको शाखामा सिफारिस गर्ने छ ।

नगरपालिकाले सिफारिश गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार प्रत्येक समूहलाई अधिकतम पाँच लाख रुपैंयासम्म सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आफ्नो कूल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसंग जोड्न सघाउ पुर्याउने बताउदै कर्जा तिर्नुनपर्ने भन्ने मानसिकता कसैले राख्न नहुने बताउनुभयो ।

त्यस्तै नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले यस्ता कर्जाले नगरबासीको आर्थिक, सामाजिक तथा सांस्कृतिक पक्षकै आधारभूत रुपमा विकास गर्न सघाउ पुग्ने बताउनुभयो ।

बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अबलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी बैंकले विभिन्न संघ सस्थाहरुसँग सम्झौता गरी सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताउनुभयो ।


ताजा खबर