विश्वभर कोरोना संक्रमितको संख्यामा पुनः वृद्धि

विश्वभर कोरोना संक्रमितको संख्या पुनः वृद्धि भएको छ । पछिल्लो २४ घन्टामा मात्रै विश्वभर ३ लाख ५ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

विगत केही दिनदेखि २ लाख ६० देखि ७० हजारको हाराहारीमा संक्रमित थपिने गरेकोमा एकै दिनमा विश्वभर ४० हजारभन्दा बढी नयाँ संक्रमित थपिएका हुन् ।

कोरोना संक्रमणबाट बढी प्रभावित अमेरिका र ब्राजिलको संक्रमण केही दिनको तुलनामा बढेको छ । तर सबैभन्दा प्रभावित भारतमा भने दैनिक संक्रमण केही घटेको छ ।

संक्रमण घटे पनि विश्वमा सबैभन्दा बढी दैनिक संक्रमित हुनेमा भने अझै पनि भारतीय नै छन् । भारतमा पछिल्लो २४ घन्टामा ८६ हजार नजिक संक्रमित थपिएका छन् । यो संख्या केही दिन अघिसम्म ९५ हजार माथि पुगेको थियो । भारतमा कोरोना संक्रमणका कारण ९२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा दैनिक ३० हजारको हाराहारीमा झरेको संक्रमण दर बढेको ४२ हजार नाघेको छ । यसै गरी कोरोनाबाट प्रभावित ब्राजिलमा पनि दैनिक संक्रमण १५ हजारभन्दा तल झरेकोमा बढेर पुनः ३२ हजार नाघेको छ । विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २४ लाखको हाराहारीमा पुगेको छ भने मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार नाघेको छ ।- रोयटर्स


ताजा खबर