नेकपा अध्यक्षद्वयबीच सचिवालय बैठकको कार्यसुची बारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा आज छलफल गर्नुभएको छ ।

आज नेकपा सचिवालय बैठकले तय गरेको कार्यसुची बारेमा दुई अध्यक्षबीच छलफल भएको बताइएको छ ।

गत मंगलबार बसेको नेकपा सचिवालय बैठकले दुई अध्यक्ष र महासचिव विष्णुप्रसाद पौडेललाई १० दिनभित्र पार्टीको बाँकी साँगठिनक एकताको खाका बनाउने जिम्मेवारी दिएको थियो ।

सोही विषयमा केन्द्रित भएर दुई अध्यक्षबीच प्रारम्भिक छलफल भएको बालुवाटार स्रोतको भनाई छ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार अध्यक्षद्वयबीचको छलफल केही बेर अघि सम्पन्न भएको छ । दुई अध्यक्ष मात्र सहभागी बैठकमा छलफल भएको विषयबारे विस्तृतमा बताइएको छैन ।

नेकपा सचिवालय बैठकले चारवटा कार्यसूची तय गरी बैठक शुरु गरेको थियो । असोज ६ गते बसेको सचिवालय बैठकले पार्टीको आन्तरिक साँगठनिक एकतालाई टुङ्गोमा पु¥याउने, संवैधानिक निकायको बाँकी रिक्त ठाउँमा पदपूर्ति गर्ने, मन्त्रिपरिषद पुनर्गठन गर्ने र विविध कार्यसूची तय गरेको थियो ।

मन्त्रिपरिषदको पुनर्गठनको गृहकार्य गर्न पनि सचिवालय बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ । मन्त्री नियुक्तिको जिम्मेवारी प्रधानमन्त्रीको भएपनि पार्टीको सल्लाह र परामर्शमा काम गर्ने पार्टीको सहमति अनुसार प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्ड र दलका वरिष्ठ नेताहरुसँग परामर्श गरेर त्यसको टुङ्गो लगाउने गृहकार्यमा रहनुभएको नेकापाका नेताहरुको बुझाई छ ।

करिब अढाई घण्टा चलेको आजको बैठकमा पनि मन्त्रि परिषद पुनर्गठनको विषयमा छलफल भएको हुनसक्ने अध्यक्षद्वयका सचिवालयका सदस्यहरुको अनुमान छ ।  -रासस


ताजा खबर