भारत सरकारद्वारा आवास तथा विद्यालय पुनर्निर्माणका लागि १ अर्ब ५४ करोडको चेक हस्तान्तरण

भारत सरकारद्वारा नेपाललाई विद्यालय पुनर्निर्माणका लागि प्रदान गरिएको १ अर्ब ५४ करोडको चेक आज हस्तान्तरण गरिएको छ ।

आज बिहान भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले नेपाल सरकार अर्थ मन्त्रालयका सचिव श्री शिशिर कुमार ढुङ्गानालाई सो चेक हस्तान्तरण गर्नुभएको हो ।

भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता अनुरुप प्राप्त नेरु १ अर्ब ५४ करोड (भारु ९६ करोड) बराबरको चेक हस्तान्तरण गरिएको भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

भारत सरकारले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ ।

भारत सरकारले गोरखा र नुवाकोट जिल्लाका ५० हजार निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।


ताजा खबर