‘नेपाल र चीनबीच कुनै सीमा समस्या छैन’

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भू–भागमा भवन निमार्ण गरिरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका समाचारहरूमा सत्यता नरहेको स्पष्ट पार्नुभएको छ ।

मन्त्रिपरिषद्को यही असोज १ गते र ६ गते बसेको बैठकका निर्णयहरू सर्वजनिक गर्न आज सञ्चार तथा सूचना मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ज्ञवालीले यस किसिमको कुरा २०७३ सालमा पनि आएको तर स्थलगत अध्ययन क्रममा उक्त दुई भुमी नेपाल–चीन सीमाको एक किलोमिटर चीनतर्फ रहेको पाईएको स्पष्ट पार्नुभयो ।

हाल निर्माण गरिएको भवन चीनको सोही क्षेत्रमा रहेको उल्लेख गर्नुहुँदै मन्त्री ज्ञवालीले सञ्चारमाध्यमा आएको हुनाले त्यसको स्थलगत अध्ययनका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाको टोली पुगेको र त्यसबाट थप कुराहरू स्पष्ट हुनेपनि बताउनुभयो ।

मन्त्री ज्ञवालीले नेपाल र चीनबीच कुनै किसिमको सीमा समस्या नरहेको र कुनै समस्या देखा परेमा दुई पक्षीय छलफलबाट समाधान हुने वातावरण रहेको पनि बताउनुभयो ।

मन्त्री ज्ञवालीले जनजीवन सहज बनाउन सरकारले कोरोना संक्रमणको जोखिम कायम रहेकै अवस्थामा खुल्ला गर्दै गएको भएपनि आवश्यक सजगता अपनाउन सबैमा आग्रह गर्नुभयो ।

सरकारले बाढी पहिरोग्रस्त सिन्धुपाल्चोक र बागलुङ जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको हो ।

यसैगरी मित्रराष्ट्र चीनसँगको कुटनीतिक पहलपछि लामो समयदेखि रसुवाको केरुङमा थुप्रिएको नेपाली व्यवसायीहरुको सामान ल्याउन सुरु भएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

हुम्ला जिल्लामा चिनीया पक्षद्वारा भवन बनाइएको भन्ने विषयमा सत्यतथ्य बुझ्ने काम भैरहेकोले केहीदिनमै वास्तविकता सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।

त्यसैगरी सरकारले इजरायलसँग श्रम सम्झौता गर्न इजरायलका लागि नेपाली राजदूत अन्जान शाक्यलाई अख्तियारी दिइएको पनि मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

नेपालमा कोरोनाको जोखिम कम भैनसकेकोले यसको संक्रमणप्रति सजग रहन समेत सरकाले सबैलाई आग्रह समेत गरेको छ ।


ताजा खबर