रिक्त संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न संवैधानिक निकायहरुमा रिक्त पदहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले संवैधानिक परिषद्को बैठक राखेर छिटो पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले संवैधानिक निकायहरुमा रिक्त पदहरुमा पदपूर्ति प्रक्रिया अगाडि बढाउन अन्य सम्बद्ध सबैलाई पनि बैठकले आग्रह गरेको बैठकपछि जानकारी दिनुभयो ।

बैठकले पार्टीको सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न सचिवालयमा आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्षद्धय र महासचिवलाई १० दिनको समय दिएको र त्यसरी आएको प्रस्तावमाथि छलफल गरी आवश्यक निर्णय लिईने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रवक्ता श्रेष्ठले सरकारको कामको प्रभावकारिता बढाउन छिटो भन्दा छिटो मन्त्रीपरिषद्को पुनर्गठन गर्न पनि बैठकले जोड दिएको बताउनुभयो । –रासस


ताजा खबर