नेकपा सचिवालय बैठक:मन्त्री परिषद पुनर्गठनमा छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।

पेरिसडाँडामा करिब साढे तीन घण्टा बसेको बैठकले सरकारको काम कारवाहीलाई थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गरेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार अहिले सरकारले गरिरहेको काममा थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको कुरा भएको छ, तर त्यसको ठोस खाका बन्न बाँकी छ ।आजको बैठकमा सो विषयको कार्यसूचीले विषय प्रवेश पाए पनि अर्को बैठकमा त्यसबारे थप छलफल हुने उहाँले बताउनुभयो ।त्यसबारे नीतिगत सुझाव बैठकमा दिइएको उहाँले जानकारी दिनुभयो ।

अर्को बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने उहाँले जानकारी दिनुभयो । पार्टीको स्थायी कमिटीको निस्कर्ष र निर्णयलाई कार्यान्वयन गर्नेगरी सचिवालय बैठक बसेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।आजको बैठकमा चारवटा कार्यसूची तय गरिएको उहाँले बताउनुभयो । पहिलो– कार्यसूचीमा मन्त्रिपरिषदको पुनर्गठन, दोस्रो संवैधानिक–राजनीतिक नियुक्तिको विषय रहेको उहाँले बताउनुभयो ।

सरकारलाई निर्णय गर्न आधार तयार गर्न सजिलो बनाउनेगरी सचिवालय बैठकमा विभिन्न कोणबाट छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, तेस्रो–कार्यसूचीमा संगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने विषय र चौथो– विविध कार्यसूची तय गरिएको उहाँले बताउनुभयो ।विविध अन्तर्गत संगठन विभागका निर्णयका सन्दर्भमा छलफल हुने उहाँले बताउनुभयो ।स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति गर्ने, यसअघि भएको केही कारवाहीका निर्णय बारेमा समेत छलफल भएको बताउनुभयो ।

केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमितरुपमा आर्थिक सहयोग गर्ने या के गर्ने ? विषयमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । संघीय संसदका सदस्यहरुलाई कोभिड १९ को विषयमा बैठक भत्ता के गर्ने बारेमा पनि छलफलको विषय रहेको उहाँले बताउनुभयो ।

आइतबारको बैठकमा पहिलो एजेण्डामै केन्द्रित भएर छलफल भएपनि स्पष्ट खाका बन्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यका लागि विभिन्न कोणबाट छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । –रासस


ताजा खबर