कुर्था-जयनगर चल्ने रेल सेट शुक्रबार नेपाल आइपुग्ने

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट भोलि नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो ।

कुनै पनि किसिमका समस्या नआएमा भोलि रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन ।”

भारतको जयनगरमा नेपाल ल्याउन तयार नेपाल रेल्वेको बोगी

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था-जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ-तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसदमा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ ।


ताजा खबर