क्रिकेट खेलाडी भण्डारीको थप उपचार ग्राण्डीमा हुने

सडक दुर्घटनामा परी घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको थप उपचार काठमाडौंको ग्राण्डी अस्पतालमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले ललितको थप उपचार ग्राण्डी अस्पतालमा हुने जनाएको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानको फेसबुक पेजमा एक विज्ञप्ति निकाल्दै नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ललितलाई काठमाडौं ल्याएर ग्राण्डी अस्पतालबाट थप उपचार गरिने बताउनुभयो ।

आईतबार राति धनगढीबाट महेन्द्रमगर जाँदै गरेको ट्रकको ठक्करबाट ललित सवार मोटर साईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परेपछि उनलाई धनगढीको निसर्ग हस्पिटलमा राखेर उपचार गरिएको थियो । 

त्यहाँका चिकित्सकले थप उपचारका लागि ललितलाई नेपागञ्ज मेडिकल कलेज कोहलपुरमा रिफर गरेका थिए । क्यानले ललितको अवस्था सुधारोन्मुख रहेको समेत जनाएको छ । हात र खुट्टामा गम्भीर चोट लागेकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

चोटकै कारण ललित पछिल्लो समय राष्ट्रिय टिमबाट बाहिर रहदै आएका थिए । विभागीय टिम पुलिसमा आबद्ध ललितले घरेलु क्रिकेटका विभिन्न फ्रेन्चाईज प्रतियोगिता खेलिरहेका थिए । भण्डारीको उपचारमा सहयोगका लागि क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले अपिल गरेका छन भने क्यानले सबै सहयोग गर्ने बताएको छ ।


ताजा खबर