कोरोनाका कारण पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ६ जना काठमाडौंका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ पुरुष र १ महिला, मोरङमा २ पुरुष, ललितपुर, भक्तपुर र रामेछापमा एक–एक जना पुरुष, गोरखा, नवलपरासी, पर्सा र कपिलवस्तुमा एक–एक जना महिलाको मृत्यु भएको छ ।

उपत्यकामा आज थप पाँच सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप पाँच सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा चार सय ४० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ४३ जना गरी आज उपत्यकामा थप पाँच सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर तीन सय ९९ जना महिला र सात सय ७१ पुरुष गरी एक हजार एक सय ७० जनामा कोरोना भाइरसको सङक्रमणपुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ ।

त्यस्तै आज देशभर आज आठ सय ७९ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ३९ हजार पाँच सय ७६ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६५ प्रतिशतको ज्यान गएको छ ।


ताजा खबर