बाढी र पहिरो प्रभावितलाई भारतको सहयोग

भारत सरकारले नेपालका पाँच जिल्लाका बाढी तथा पहिरो प्रभावित परिवारहरूका लागि टेन्ट तथा त्रिपाल सहयोग गरेको छ।

भारत सरकारका तर्फबाट भारतीय राजदूतावासका नियोग उप-प्रमुख नामग्य सी. खम्पाले प्रतिनिधसभा सदस्य तथा नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेकी हुन्।

‘बाढी र पहिरोका कारण हालसालै भएको विनाश जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरू नेपाल-भारत महिला मैत्री समाजले प्रदेश-२, बागमती प्रदेश, प्रदेश-५ र सुदूरपश्चिम प्रदेशका कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरेर वितरण गर्नेछ;’, भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त सामग्री नेपाललाई दिएको दूतावासले जनाएको छ।
 


ताजा खबर