सरकारले पिसिआर परीक्षणको शुल्क घटायो

सरकारले पिसिआर परीक्षणको शुल्क घटाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिनसक्ने गरी शुल्क तोकिएको जानकारी दिनुभयो ।

विश्व बजारमा पिसिआर परीक्षण गर्न चाहिने आवश्यक किटको मूल्य घटेको र विश्वमै पिसिआर परीक्षणको शुल्क पुनारावलोकन गरिएकाले नेपालमा पनि शुल्क घटाइएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

यस अघि पिसिआर परीक्षण गरेबापत प्रयोगशालाहरुले रु ४ हजार ४ सय रुपैयाँ लिन पाउने गरी शुल्क तोकिएको थियो ।

कोरोना भाइरसको संक्रमणका कारण आज थप ९ जनाको निधन भएको छ ।   योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ४५ पुगेको छ ।

आज मन्त्रालयमा गरिएको प्रेस व्रिफिङ्मा प्रवक्ता प्रा.डा. गौतमले काठमाडौंका ६५ वर्षीया महिला र कास्कीका ४५ वर्षीया र काठमाडौंका ६५ वर्षीया महिलाको निधन भएको जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार  काठमाडौंकै ५९,  ६४,  ५९ र ७० वर्षीय पुरुष,  मोरङका ६९ वर्षीय र सिन्धुपाल्चोकका ५९ वर्षीय पुरुषको निधन भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार एक सय ६५ जनामा गरिएको परिक्षणमा एक हजार ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज काठमाडौँमा ४ सय  ८३ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा ८१ जनामा कोेरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, गत २४ घण्टामा थप १ हजार १ सय ७३ जना संक्रमण मुक्त भएका छन् ।

यो सहित हालसम्म निको हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको  मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।

यस्तै सक्रिय संक्रमितहरुमध्ये १ सय ६९ जनाको आइसियु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयले बिरामी बोक्ने एम्बुलेन्सको सदुपयोग गर्न अनुरोध गरेको छ ।

एम्बुलेन्स सञ्चलन गाइडलाइन्स अनुसार बिरामी बाहेक अरु बोकेको पाइएमा मन्त्रालयले तत्कालै दर्ता खारेज गर्ने र भविष्यमा उक्त संस्थालाई एम्बुलेन्स सञ्चलन गर्न नदिइने जनाएको छ ।


ताजा खबर