रोकिएको कोभिड-१९ विरुद्धको खोपको परीक्षण पुनः शुरु

खोप दिइएका एक स्वयंसेवकमा नकारात्मक असर देखिएपछि रोकिएको बेलायती संस्थाहरु आस्ट्राझेनिका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिड-१९ विरुद्धको खोपको पुनः परीक्षण शुरु भएको छ ।

खोपकै कारणले गर्दा परीक्षणमा सहभागी व्यक्तिमा नकारात्मक असर देखिएको हो वा अन्य कारणले गर्दा भन्ने अध्ययनका लागि केहि समय खोपको परीक्षण र थप अनुसन्धानको काम रोकिएको ती संस्थाहरुले बताएका छन् । तर अध्ययनले शंका गरिए जस्तो नभएकोले पुनः खोपको परीक्षणको क्रम शुरु गरिएको हो ।

बेलायतका स्वास्थ्यमन्त्रीले खोपको परीक्षण र थप अनुसन्धान पुनः शुरु हुन लागेको प्रति खुशी व्यक्त गर्दै अब छिट्टै खोप तयार हुनेमा आशावादी रहेको बताउनुभएको छ ।

अनुसन्धान संस्थाहरुले ती व्यक्तिलाई कस्तो समस्या देखिएको थियो भन्ने बारेमा भने केही खुलाएका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिले १८० भन्दा बढी संस्था र समूहले कोभिड विरुद्धको खोपको परीक्षण गरिरहेका छन् ।

तर हालसम्म कसैले पनि पूर्ण सफलता भने प्राप्त नगरिसकेको उसले बताएको छ । कोभिड-१९ को महामारीबाट विश्वभर २ करोड ८९ लाख बढी मानिसहरु संक्रमित भइसेकेको, ७२ लाख भन्दा बढी अझै सक्रिय संक्रमित रहेको र संक्रमणकै कारण ९ लाख २४ हजार बढीको मृत्यु भइसकेको अवस्थामा भाइरस विरुद्धको खोप बनाउन सबै लागिरहेका छन् ।

-रोयटर्स


ताजा खबर