नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

‘फुटबल खेलेर कमाएको नामबाट खुशी र सन्तुष्ट छु’

जुमनु राई, फुटबलर

फुटबलकै कारण नेपाल प्रहरीको जागिरे बनेको म अहिले हाइटी पिस किपिङ मिसनमा खटिएर भर्खरै आएको ।

खेलेर खाइरहेको मान्छे बन्दुक बोकेर काम गर्दा अलि भिन्न अनुभव हुँदोरहेछ । थोरै रमाइलो, धेरै डर । हाइटीमा बन्दुक बोकेका कुरा एकैछिनमा गरौंला, पहिले फुटबलकै कुरा गरौं ।

म सर्लाही हरिवनमा जन्मिएको । बाबा जितेन्द्रकुमार राई पनि फुटबल खेलाडी नै हुनुहुन्छ । त्यही माहोलले गर्दा सानोदेखि मेरो फुटबल सुरु भयो । सानोमा मोजामा कपडा पोको पारेर खेले पनि अरुको साथीहरुको तुलनामा मैले साच्चैको फुटबल पाउन समय लागेन । घर नजिकै मैदानहरु थियो । टोले कपदेखि विद्यालयसम्म फुटबल चल्थ्यो । जुमानुलाई बोलाए जितिन्छ भन्थे, साथीहरु घरमा नै लिन आउँथे । म पनि बोलाएको ठाउँमा छुटाउँदैनथेँ, प्राय प्रतियोगिता हामीले नै जित्थ्यौं ।

फुटबलबाट सानो बेलामा कमाएको पनि याद छ । अहिले सम्झँदा म त त्यो बेलादेखि नै व्यावसायिक खेलाडी बनेकोरहेछु जस्तो लाग्छ । तिहारको समय थियो । टीकापछि दिदीलाई दिने उपहार फुटबल खेलेर पाएको पैसाले किनेको मलाई याद छ । किनभने गाउँ टोलमा अरुको क्लबबाट खेल्न जाँदा म पैसा लिन्थेँ । मानिसहरु घरमा नै लिन आएको देख्दा मसँग पनि केही रहेछ, राम्रै खेल्दोरहेछु भन्ने लाग्थ्यो । त्यही भएर पनि सिरहा, महोत्तरीसम्म पनि खेल्न पुग्थेँ ।

बाबा आमाले पनि कहिल्यै रोक्नुभएन । जहाँ पुगे पनि बेलुका घर आइपुग्थे, म खेल्न गएको छ भनेपछि घरमा सबैजना ढुक्क बस्नुहुन्थ्यो । म १७ वर्षको हुँदा हो । गोलबजारमा एकपटक लालबन्दी स्पोर्टस् क्लबबाट फुटबल प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडीको उपाधि जितेको थिएँ । त्यतिबेला चाँदीको सिक्काको मेडल बनाएर दिने चलन थियो । त्यो सिक्का मसँग अझैसम्म पनि छ ।

सर्लाहीतिर चलेको मेरो फुटबलले विस्तारै काठमाडौंको बाटो देख्यो । बाबाको चेला सुमन तिलक सिञ्जाली पनि राम्रो खेलाडी । मैले फुटबल सिकेको सुमन गुरुसँग नै हो । सुमन गुरुले आरसीटी, ब्वाइज युनियनबाट लिग खेलिसक्नुभएको थियो । उहाँले नै ब्वाइज युनियनमा ट्रायल खुलेको छ, जाने हो ? भनेर सोध्नुभयो ।

मलाई त जसरी भए पनि फुटबल खेल्नु थियो । त्यसैले जान्छु भनेँ । उहाँले नै टिकट काटेर पठाइदिनु भयो । आएर ट्रायल दिएँ तर, छनोट हुन सकिनँ । त्यसपछि सर्लाही फर्किएर खेल्न थालेँ । त्यसको केही समयमा नेपाल पुलिस क्लबमा पनि खेलाडी खोजेको छ भन्ने कुरा सुनियो । त्यतिबेला खेलाडी भन्ने दर्जामा प्रहरीले आबद्ध गराएर खेलाउँथ्यो । एआईजी अमर सिंह शाहको नेतृत्वमा खेल विभाग हुँदा प्रहरीभित्रको खेलकुदको स्वरुप नै निकै राम्रो थियो । हरि खड्का, देवनारायण चौधरी, रमेश बुढाथोकी, अनन्त थापा जस्ता खेलाडीहरु थिए ।

रात्रीबस चढेर काठमाडौं आएँ । काठमाडौं पहिले पनि आएको हो तर, ठाउँहरु राम्ररी चिनेको थिइनँ । सोधखोज गरेर पुलिस एकेडेमीमा पुगेँ । पुग्नासाथ हरि खड्कालाई आँखै अगाडि देख्दा म त छक्क परेँ । टीभीमा देखिरहेको स्टार खेलाडी आफ्नै आँखाअघि हुँदा के गरौं के गरौं हुनेरहेछ । अझ उनीहरुसँगै खेल्नुपर्ने रहेछ ।

छनोट गर्न सबै जनामाथि बसेर हेरिरहेका थिए । मैदानमा पसेपछि भने मलाई केही डर लागेन । ५ मिनेट जस्तो खेलेपछि मलाई बाहिर निकाले । म टिममा परिनँ होला, त्यही भएर निकालिदिए भन्ने सोचेको थिएँ । तर छनोट भएको रहेछु । त्यति मान्छेको बीचमा खेल देखाएर पुलिस टिममा पर्नु भनेको ठूलो कुरा हो भनेर असाध्यै खुशी लाग्यो । यसरी २०५९ सालमा पुलिस फुटबल टिममा प्रवेश भयो ।

पुलिस टिममा त पुगेँ तर, खेल्न पाउन भने निकै मेहनत गर्नुपर्थ्यो । एक से एक खेलाडी थिए । बाहिर बस्न आफूलाई फेरि मन नै नलाग्ने । आउने वित्तिकै कसले पो खेलाउनू ।

हरि खड्का, देवनारायण चौधरी सबै दाइहरु अभ्यासका लागि ८ बजे आउँदा म ७ बजे नै पुगेर अभ्यास गरिरहेको हुन्थेँ । विस्तारै सबैले रुचाउँदै गए । टिममा पाँच मिनेट भए पनि अवसर पाउन थालेँ । तर त्यसका लागि कि रमेश बुढाथोकी घाइते हुनुपर्थ्यो कि त हरि खड्का घाइते हुनुपर्थ्यो । त्यही पाँच मिनेटमा नै आफ्नो खेल देखाउन थाले । प्रशिक्षक योगम्बर सुवालले पनि राम्रो सोच्नुभएको थियो ।

सर्लाहीमा हुँदा फुटबल खेले पनि यहाँको भन्दा भिन्न थियो । काठमाडौंमा प्रशिक्षकहरुसँग सिक्न पाएपछि उनीहरुले भनेको र आफूले गर्न खोजेको कुरा मिल्दै गयो र खेल राम्रो हुँदै आयो । अमरसिंह शाह जस्ता मान्छेहरुले गर्दा प्रहरीको टिममा एउटा उर्जा बनेको थियो । खेलाडीलाई भत्तादेखि पदोन्नतिसम्म उहाँले विचार गरिदिनुहुन्थ्यो । हुन पनि उहाँको पालामा हामीले नजितेको प्रतियोगिता केही थिएन । त्यो एउटा सम्झनलायक इतिहास नै हो ।

पुलिस टिमसँग पर्ने वित्तिकै अरु टिमले अब हारिने भइयो भन्ने सोच्थे । हामीमा पनि जित्छौं भन्ने आत्मविश्वास हुन्थ्यो । नेपालमा मात्रै होइन ,प्रेसिडेन्ट कप खेल्न जाँदा पनि हाम्रो प्रदर्शनले अरु टिम चकित हुन्थे । असाध्यै मिलेको टिम थियो । त्यो समयमा उमेर समूह र क्लबमा गरेका गोल गनेको भए त मैले कति गोल गरिसकेँ होला भनेर अहिले अचम्म लाग्छ ।

पुलिस टिममा खुकुरी कप प्रतियोगिताको तयारी भइरहेको थियो । म जुनियर भएकाले धेरै चासो लिएको थिइनँ । दोस्रो चरण खेल्न विराटनगर जानुपर्ने थियो । त्यही बीचमा नयाँ बजारको एउटा क्लबको साथीले मलाई खुकुरी कप छनोटको लागि खेल्न बोलायो । किनभने पुलिस टिमले छनोट खेल्नुनपर्ने भएकाले हामी अन्तिम प्रतियोगिताको तयारीमा थियौं । मैले पुलिस टिममा सोध्नुपर्छ भन्ने बिर्सिएछु र हुन्छ भनिदिएँ ।

त्यही प्रतियोगितापछि यू–२३ साफ फुटबलको छनोटका लागि एन्फाले मलाई बोलायो । पहिलो पटक राष्ट्रिय टिमको छनोटमा पुगेँ । छनोटको विभिन्न चरण पार गरेपछि अन्तिम ३० मा नाम पर्‍यो । मैले सोचेँ, अब म राष्ट्रिय टिममा परेँ । तर, अरु दाइहरुले ३० मा नाम परेर हुँदैन अब अर्को चरण पनि हुन्छ भनेपछि ए भन्ने लाग्यो । नभन्दै दोस्रो चरणको छनोटमा म परिनँ । सिनियर खेलाडीहरु थिए ।

तर, अर्कोपटक यु २३ को छनोटमा सिधैँ नै परेँ । २००५ मा त राष्ट्रिय टिममा नै स्थान बनाउन सफल भएँ । बंगलादेशको चटगाउँमा ब्रुनाईविरुद्ध मैत्रीपूर्ण खेलमा खेलेको थिएँ । त्यो बेला पाएको पाँच मिनेटको समय त म अलमलमै बित्यो । त्यसपछिका दिनमा भने मैले फर्केर हेर्नु परेन । मेरो ठाउँ कतै जाँदैन भनेर ढुक्क भएर खेल्न पाएको थिएँ । त्यसरी नै राष्ट्रिय टिममा १० वर्षसम्म खेलेँ ।

भाग्य नै भन्नुपर्छ घाइते पनि भइनँ । डाँडाकाँडामा मुडा बोकेर हिँडेको शरीरले मैदानमा राम्रै साथ दियो । त्यो समयमा घाइते भएको भए त खेल जीवन नै सकिन्थ्यो । मलाई याद छ, म लामो समय बाहिर बस्नुपरेको भनेको १५ दिन जति मात्रै थियो ।

फुटबलका दिनहरु सम्झँदा केही रमाइला क्षण छन्, केही नरमाइला क्षण पनि छन् । विशेष त त्यो साफ च्याम्पियनसिपसँगै नै जोडिन्छ । साफ च्याम्पियनसिप त हाम्रो लागि विश्वकप सरह नै हो । २०१३ मा काठमाडौंमा भएको साफ च्याम्पियनसिप सम्झँदा अलि नरमाइलो लाग्छ । त्यो बेला हामीले पेनाल्टी मिस गरेर अफगानिस्तानसँग १–० ले हारेका थियौं । म पेनाल्टी हान्न कहिल्यै पनि डराउँदैन थिएँ ।

हुन त त्यो समय लगातार प्लेइङ ११ मा पनि परेको थिइनँ । भित्र बाहिर हुने क्रम चलिरहेको थियो । जे होस्, प्रशिक्षकहरुकै कुराले रोहित चन्दले पेनाल्टी हान्ने पक्का भयो । उसको खेल राम्रो थियो तर, दुर्भाग्य ! उनी पुनाल्टमिा चुके, घरेलु मर्शक निराश भए ।

भारतमा २०११ मा भएको साफमा पनि हामी सेमिफाइनलमा अफगानिस्तानसँगै १–० ले हारेका थियौं । त्यो बेला पनि हामीले नराम्रो खेलेको भने होइन । गर्दा गर्दा पनि भएन । जित्छौं भनेर गोर्खाली पारामा सब हुरुरु अगाडि बढेर पेलिरहेका थियौं, ९० मिनेट सकिएर थपिएको आधा घण्टामा काउन्टरमा फुत्त एक गोल छिराइदिए, हामी निराश भयौ । यस्ता जित्न सकिने खेलहरु हार्दा भने असाध्यै दुःख लाग्छ ।

२००८ मा एएफसी च्यालेन्ज कपको छनोटमा कम्बोडियालाई उसैको मैदानमा १–० ले हराउँदा गरेको गोल भने अहिलेसम्म खुशी लाग्ने क्षण हो । त्यही गोलको मद्धतमा नै हामी अर्को चरणमा पुगेका थियौं ।

दुःख लाग्ने क्षण भने मैदानका कुराले भन्दा मैदानबाहिरका कुराले धेरै हुने रहेछ । म उचाइमा रहेकै बेला बोल्दै नबोलेको कुरा एकपटक सञ्चारमाध्यममा आइदिएर असाध्यै नराम्रो भएको थियो । राष्ट्रिय मिडियामा त्यसरी नभनेका कुरा आउँछन् भनेर कहिल्यै सोचेकै थिइनँ । जुमानु राईले सर्लाहीमा जन्मनु दुःखको कुरा भन्यो भनेर हावामा समाचार बनाइदिएछन् ।

त्यसले मलाई पछिसम्म असर गर्‍यो । साँच्चै भन्नुपर्दा त्यो घटनाले मिडियाप्रति मेरो विश्वास नै डगमगायो । हुन त त्यसको भोलिपल्ट सच्याइएको भनेर पनि आयो तर, ठूलो अक्षरमा पहिलो पृष्ठमा आएको समाचार सच्याइएको भनेर सानो कुनामा राख्दा कसले देख्नू । अहिलेसम्म पनि सर्लाहीमा जाँदा साथीहरु ‘तँ त सर्लाहीमा जन्मेकै होइन रहेछस्, काठमाडौंमा बस्ने ठूलो मान्छे’ भनेर पेच हान्छन् । त्यसबेला मेरोबारे किन त्यसरी लेखे मैले अझैसम्म चित्तबुझ्दो जवाफ पाएको छैन ।

यो त भयो फुटबलको कुरा । तर, म भर्खरै १३ महिना हाइटी मिसनमा खटिएर फर्किएको छु ।

मन मस्तिस्कमा भने फुटबलकै पुराना दिनहरु ताजा बनेर आइरहेका छन् । फुटबलको उचाइमा हुँदाका दिनहरु भिन्न थिए । त्यो भन्दा भिन्न बन्दुक बोकेर ड्युटीमा खटिँदा भयो ।

तीन घण्टा फुटबल खेलेर जागिर खाइरहेको मान्छे १० किलोभन्दा बढी तौलको कपडा लगाएर, बन्दुक बोकेर खटिनु सजिलो थिएन । हुन त रमाइलो पनि भयो, कतिपय समयमा जोखिमको क्षण पनि आए ।

मिलेको बेला फुटबल खेल्ने, जिम गर्ने, स्वीमिङ जाने गरिरहेको हुन्थें । प्राय खेल बाहिर रहेर काममा खटिनुपर्थ्यो । अरुको देशमा चलेको आन्दोलनको समयमा जिम्मेवारी निभाउन सहज थिएन । ढुँगा हानिरहेको ठाउँमा जोगिएर भिडलाई तितरवितर पार्नुपर्थ्यो, त्यस्तो समय आफ्नै ज्यान जोखिममा हुन्थ्यो । परिवारको याद आउँथ्यो । त्यहाँ त सिभिलमा भएका मान्छेसँग पनि बन्दुक हुने भएकाले डर बढी हुन्थ्यो ।

त्यो समयमा घर परिवार, १० महिना र ६ वर्षका दुई छोराको यादले पनि धेरै सातायो । भिडियो कल गरेर छोराहरु हेर्थे तर, प्रत्यक्ष अगाडि भएको जस्तो कहाँ हुनू ?

मेरो विवाह पनि फुटबलले नै जुराएको हो । बिहेको कुरा पनि अलि रमाइलो नै छ । सबैले जुमानु राईले पुर्ख्यौली घरबाट बिहे गर्छ भनिरहेका हुन्थे तर माहोल त्यस्तो भएन । हतारमा बिहे भयो । भेट्न भनेर गएको बेला विराटनगरको एउटा मन्दिरमा बिहे नै गरेर आइयो । राष्ट्रिय टिममा क्याम्पमा भएकाले समय दिनै पाएको थिइनँ ।

उनीसँग पहिलो भेट बुढासुब्बा गोल्डकप खेल्न धरान गएको बेला भएको थियो । उनी मेरो खेल हेर्न आएकी थिइन् । साथीहरुमार्फत चिनजान भयो । विस्तारै कुरा हुँदै जाँदा नजिकियौं । त्यसको आठ महिनामा त बिहे नै भयो । रमाइलो चाहिँ उ तपाईंले पहिले प्रस्ताव गरेको हो भन्छे, म तिमीले पहिले प्रस्ताव गरेको हो भन्छु । अब जसले प्रस्ताव गरेको भए पनि अहिले त दुई छोरा नै हुर्किसके ।

राष्ट्रिय टिममा ५२ खेल खेलेँ । त्यसमा ११ गोल भयो । पछिल्ला वर्षमा भने केही गोल गर्न सक्छु जस्तो लागेको खेलमा अवसर पाइनँ । २०१५ मा विश्वकप छनोटको खेलमा भारतसँग र त्यही वर्ष भारतसँगै भएको मैत्रीपूर्ण खेल नै मेरो अन्तिम खेल भयो ।

सम्झँदा खुशी लाग्छ । त्यही समय अब फर्किँदैन । आफूले गरेको कामदेखि सन्तुष्ट छु । विभिन्न अवार्डहरुले पनि फुटबल जीवनलाई फर्केर हेर्दा खुशी हुने अवसर दिएको छ । भर्खरै पनि एन्फाले लामो समय राष्ट्रिय टिममा योगदान गरेको भनेर सम्मान गरेको छ ।

राष्ट्रिय टिमबाट नखेले पनि क्लब फुटबल अझै केही वर्ष खेल्छु । राष्ट्रिय टिममा पनि एउटा सन्यासको वातावरण मिलेहुन्थ्यो भन्ने चाहीँ लागेको छ । खेलिरहेको समयमा पनि मानिसहरुले हरि खड्कापछि जुमानु राई हो भन्थे, त्यो सुन्दा असाध्यै खुशी लाग्थ्यो । जीवनमा कमाएको यही नामबाट सन्तुष्टि मिलेको छ, त्यही खुशीमा सबै दुःख बिर्सिएको छु ।

जुमनुका उत्कृष्ट गोलहरु भिडियोमाः


ताजा खबर