नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

श्याम खड्कालाई दोलखामा ‘किवि दाइ’ भनेर चिन्छन्

 श्याम खड्का, बर्ष ६० । दोलखामा उनलाई सबैले किवि दाइ भनेर चिन्छन् । झण्डै १८ बर्ष अघि उनै किवि दाइ अर्थात श्याम दाइले नेपालमै पहिलो पटक सुरु गरेको किविको व्यवसायीक खेती अहिले देशको धेरै जिल्लामा विस्तार भै सकेको छ ।

नेपालमा किवि फल आउनुमा स्वीस नागरिकको भूमिका रहेको छ । २०४३ सालतिर लामोसाँगु जिरी सडक निर्माण ताका स्वीटजरल्याण्डका जेएफ मेस्सी नामका इन्जिनियर श्याम खड्काको चरिकोट सिमपानीमा रहेको घरमा बसेका थिए । उनै मेस्सीले घरको बगैचामा किवि फल रोपेका हुन् । उनी नेपालमा काम सकेर फर्केपछि किवि फल अलपत्र प¥यो किनभने त्यसको नाम र महत्व कसैलाई थाहा थिएन । २०५८/०५९ ताका नेपाल स्वीस सामुदायीक वन परियोजनामा काम गर्ने अर्का स्वीस नागरिक पेट्रिक रविन्सनले फलको महत्व र किवि नामबारे जानकारी दिएपछि खड्काले यसको व्यवसायीक खेती सुरु गरेका हुन् ।

यो अवधिमा किवि खेतिबाटै ६० लाख बढी आम्दानि गरेका श्याम खड्का अहिले पनि किविको नयाँ नयाँ प्रजातिको परिक्षण मै व्यस्त छन् । उनको वगैचामा अहिले किविको दुई नयाँ प्रजाति (वंशाणुगत विविधता) रहेका छन्, गोल्डेन र मिनि । किविको यी दुवै प्रजाति नेपालमा आफुले पहिलो पटक रोपेको खड्का बताउछन् ।

खड्काले मिनि किवि स्वीटजरल्याण्डबाट ल्याएका हुन् । २०७३ सालतिर दोलखा घुम्न आएका कृषि विज्ञ स्वीस नागरिक डा. क्रिश्चेन गेस्सीसंग मिनि किविबारे कुरा भएको र नेपाल सरकारको सिफारीस तथा स्वीस सरकारको अनुमतिमा केहि विरुवा ल्याएको खड्काले बताए । बगैचामा अहिले ३० बोट मिनि किवि रहेको भएपनि गतबर्ष बाट दुईबोटमा फल लाग्न थालेको खड्काले बताए । यो बर्ष दुई बोटमा झण्डै ३० केजी मिनि किवि फलेको र अर्को बर्षबाट बिक्रिको लागि तयार हुने अपेक्षा गरिएको खड्का बताउछन् । अरु किवि भन्दा सानो फल लाग्ने मिनि किवि स्वादिलो र बोक्रा सहित खान मिल्ने खड्काको भनाई छ ।

सरकारको अनुमतिमै एक जना जापनिज नागरिकले पठाई दिएको गोल्डेन किविमा पनि गत बर्ष देखि फल लाग्न थालेको उनले बताए । २०७३ सालमा पहिलो पटक जापानबाट ल्याएको तीन वटा गोल्डेन किविको बोट मा यो बर्ष झण्डै २० केजी जति फल लागेको खड्काले बताए । यो पनि अन्य किविको तुलनामा आकर्षक र स्वादिलो हुने उनको भनाई छ । खड्काको बगैचामा हेवार्ड, मन्टी, एलिसन, ब्रुनो र रेड प्रजातिको किवि पनि रहेको छ । किविको अन्य प्रजाति कार्तिक मंसिर तिरमात्र खानको लागि योग्य हुने भएपनि मिनि र गोल्डेन किवि भने भदौ असोजमै खान योग्य हुने खड्काले बताउनु भयो ।

मिनि र गोल्डेन किविको परिक्षण उत्पादन सफल भएकोले अब यी दुबै किविको फल बिक्रि गर्ने र विरुवा समेत उत्पादन थाल्ने खड्काको योजना छ । नेपालकै हिमाली तथा पहाडी भेगमा पाईने ठेकी फलको ग्राफ्टीङबाट किवि प्रजाति सुरु भएको आफुले सुनेको बताउने खड्का आफु पनि ग्राफ्टीङ प्रविधिबाट नयाँ नयाँ प्रजातिको किवि उत्पादन गर्न सकिन्छ कि भनेर अध्यनमा लागेको सुनाउछन् ।

रासस


ताजा खबर