आज १२४६ जना थपिएसँगै नेपालमा कोरोना संक्रमित ५० हजार नाघे

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५० हजारभन्दा माथि पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज थप एक हजार दुई सय ४६ जनामा सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको कूल सङ्ख्या ५० हजार चार सय ६५ पुगेको जानकारी दिनुभयो ।

प्रवक्ता प्रा. डा. गौतमले आज देश भरीमा १४ हजार चार सय ४८ जना सक्रिय सङ्क्रमित रहेको बताउनुभयो । सक्रिय सङ्क्रमितहरू मध्ये आठ हजार १० जना संस्थागत आइसोलेसनमा र छ हजार चार सय ३८ जना होम आइसोलेसनमा रहेका छन् ।

यसै गरी एक सय ६५ जनाको आइसियुमा र २१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं जिल्लामा मात्रै हालसम्मको सबैभन्दा धेरै चार सय ९५ जना संक्रमित थपिएका छन् । यसै गरी ललितपुरका ४३ जना र भक्तपुरका ३४ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट आज थप एक हजार आठ सय १८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३५ हजार सात सय पुगेको र निको हुने दर ७१ प्रतिशत रहेको प्रवक्ता प्रा.डा.गौतमले बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या तीन सय १७ पुगेको छ । आज काठमाडौँका तीन जना तथा चितवन र कपिलवस्तुका एक÷एक जना गरी थप पाँच जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


ताजा खबर