प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेलगत्तै गरेका बाचामध्ये ६८ प्रतिशत पूरा गरेको दाबी गर्नुभएको छ। बाँकी ३२ प्रतिशत काम पनि सम्पन्न हुने अवस्थामा रहेको उहाँले बताउनुभयो ।
सेनाको नेतृत्व सम्हालेको ३ वर्ष प्रवेश गरेको अवसरमा आयोजित प्रधान सम्पादक, सम्पादक र समाचार प्रमुखहरूसँगकाे अन्तरक्रियामा प्रधानसेनापति थापाले यस्तो दाबी गर्नुभएको हो।
थापाले ०७५ भदौ २४ गतेबाट नेतृत्व सम्हालेपछि सेनालाई थप सुदृढ र सक्षम पार्न ‘प्रधानसेनापति कमाण्ड मार्ग निर्देशन, २०७५’ जारी गर्नुभएको थियो । जसमा ७ वटा लक्ष्य र १६६ वटा कार्यक्रम थिए ।
सेनापतिद्वारा प्रतिबद्धता जनाइएका कार्यक्रमहरूमा राष्ट्रिय सुरक्षालाई सुदृढीकरण गर्न योगदान दिने, सेनाको लडाइँ लड्ने क्षमता वृद्धि गर्ने, बन्दोबस्ती क्षमता अभिवृद्धि गर्ने, पेसागत सैनिक तालिम तथा शिक्षालाई थप व्यवस्थित गुणस्तरीय बनाउने र नेपाली सेनाको सांगठनिक संरचना र व्यवस्थापनलाई सन्तुलित र प्रभावकारी बनाउने उल्लेख थियो ।
त्यस्तै, नेपाली सेनाको युद्धबाहेकका सैनिक अपरेसनहरूलाई थप प्रभावकारी बनाउने र सैनिक कल्याणकारी कार्यक्रमको पहुँच तथा प्रभावकारिता अभिवृद्धि गर्ने योजना पनि प्रधानसेनापतिले २ वर्ष पहिले अघि सार्नुभएको थियो ।
यीमध्ये ६८ प्रतिशत काम पूरा भएको र ३२ प्रतिशत काम सम्पन्न हुने क्रममा रहेको प्रधानसेनापति थापाले दाबी गर्नुभएको छ।
‘प्रधानसेनापति कमाण्ड निर्देशन, २०७५ मा उल्लेखित ७ लक्ष्यहरू र सो प्राप्तिका लागि निर्दिष्ट गरिएका १६६ वटा कार्यक्रमहरूमध्ये हालसम्म ६८ प्रतिशत काम सम्पन्न भइसकेको छ, बाँकी ३२ प्रतिशत काम पनि सम्पन्न हुने क्रममा छ,’ प्रधानसेनापतिद्वारा प्रस्तुत प्रगति विवरणमा भनिएको छ ।