म्याच फिक्सिङका आरोपि सबै खेलाडी निर्दोष ठहर

मिलेमतोमा खेल (म्याच फिक्सिङ) खेलेको आरोप लागेका तत्कालिन कप्तान सागर थापासहिद पाँच खेलाडीलाई सर्वोच्च अदालतले सफाई दिँदै निर्दोष भएको ठहर गरेको छ ।

न्यायाधीशद्धय डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलासले गत असार २ गते गरेको फैसलाको आज पूर्णपाठ सार्वजनिक गर्दै खेल मिलेमतोमा खेलेको आरोपमा ६ वर्षअघि पक्राउ परेका कप्तान थापासहित पाँच जनाले सफाई पाएको उल्लेख छ ।

विशेष अदालतले २०७५ जेठ २४ गते गरेको फैसलालाई सदर गर्दै खेल मिलेमतोमा नखेलेको ठहर सर्वोच्च अदालतले सार्वजनिक गरेको पूर्णपाठमा छ । नेपाल प्रहरीले २०७२ असोज २७ मा कप्तान सागर थापासहित विभागीय टोली नेपाल पुलिस क्लबका गोलकिपर रितेश थापा, मनाङ मर्स्याङ्दी क्लबका विकाससिंह क्षेत्री र थ्री स्टार क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक अञ्जन केसी र खेलाडी सन्दीप राईलाई खेल मिलेमतोको अभियोगमा पक्राउ गरेको थियो ।

खेलाडीहरुमाथि सन् २००८ को मर्डेका कप, सन् २००९ को साफ च्याम्पियनसिप, सन् २०११ मा मलेसियामा भएको मैत्रीपूर्ण खेल, सन् २०११ मा नै फिलिपिन्समा भएको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतमा भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको खेलमा मिलेमतो गरेको आरोप लागेको थियो ।

खेल मिलेमतोको आरोप लागेपछि एसियाली फुटबल महासंघ (एएफसी) तथा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाँचै जनालाई फुटबलका सबै खेल खेल्न नपाउने गरी आजीवन प्रतिबन्ध लगाएको थियो । तर, अदालतले खेलाडीमाथि लगाएको अभियोग पुष्टि नभएको ठहर गर्दै सफाई दिएको छ । -रासस


ताजा खबर