कोरोना संक्रमण अन्त्यका लागि काठमाडौं उपत्यकाका मेयरहरुले उपत्यका भित्रिने नाका ठप्प पार्न आग्रह गरेका छन् । मंगलबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाइ गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । फोरमको बैठकले उपत्यका प्रवेश गर्ने नाकामा सेना परिचालन गर्ने निश्कर्ष समेत निकालेको छ । यसका लागि संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको जानकारी फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले दिएका छन् ।
बैठकले कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञालाई उपत्यकाभित्र क्रमशः खुकुलो बनाउँदै लाने निर्णय गर्दै उपत्यका भित्रिने नाकामा थप कडाई गर्ने निणर्य गरेको हो । साथै बैठकले २५ गतेदेखि नगरपालिका र वडाबाट प्रदान गरिने सेवालाई नियमित गर्ने निर्णय गरेको छ ।
‘उपत्यकाभित्र समुदाय स्तरमा संक्रमण फैलिएका कारण उपत्यका भित्रिने नाकामा कडाई गर्नुपर्ने निर्णय भएको’, सचिव श्रेष्ठले बताएका छन् ।
बैठकले नागरिकलाई स्वास्थ्य सुरक्षा मापदण्डका बिषयमा सचेत र जिम्मेवार बनाउँदै लैजाने, उद्योग, व्यवसाय र कलकारखाना सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउने, सवारी साधन जोर बिजोर प्रणालीमा चलाउने, सार्वजनिक सवारी हाललाई सञ्चालनमा नल्याउने पनि मेयरहरुको सुझाव छ ।