नेकपा स्थायी कमिटी बैठक शुक्रबार

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा दुई अध्यक्षबीच ६६ दिनदेखि अवरुद्ध भएको नेकपाको पाँचौं स्थायी कमिटी बैठक शुक्रबार बोलाउने  सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेलसमेत उपस्थित थिए । स्थायी कमिटीको पूर्वनिर्धारित बैठक १३ साउनमा स्थगित भएको थियो ।

यस्तै अध्यक्षद्वय ओली र प्रचण्डबीच विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामकृष्ण बजगाईँले जानकारी दिए।  अध्यक्षद्वयबीच कार्यदलले तयार पारेको प्रतिवेदन, मन्त्रिपरिषद पुनर्गठन तथा उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रियसभामा मनोनित गर्नेलगायतका विषयमा छलफल भएको जनाएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि नेकपाभित्र अर्थमन्त्री को बन्ने भन्ने विषयले प्रमुखता पाएको छ । साथै कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा खाका बनाएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी समेत गर्नुभएको छ । सचिवालय बैठकपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने योजना रहेको जनाइएको छ । –रासस


ताजा खबर