एक बैंकको एटिएम कार्ड प्रयोग गरी अन्य बैंकको एटिएमबाट पैसा निकाल्दा अब शुल्क नलाग्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७७ जारी गर्दै एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्क लिन नपाइने व्यवस्था गरेको छ ।
बैंकहरुले यस अघि लकडाउनको समयमा अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क नलिए पनि लकडाउन खुलेसँगै अन्तरबैंक एटिएम प्रयोग गर्दा शुल्क लिने गरेका थिए । अब भने बैंक तथा वित्तीय संस्थाहरुले अन्तरबैंक एटिएम प्रयोग गर्दा ग्राहकबाट कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरिएको छ ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा एउटै प्रकारको एक भन्दा बढी कार्ड (डेबिट–क्रेडिट) जारी गर्न पाउने छैनन भने कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको सूचना ग्राहकलाई एसएमएस मार्फत दिनुपर्नेछ । कार्ड नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्नेछ । -रासस





















