भारतसँग विद्युत् व्यापार गर्न स्वीकृति

सरकारले छिमेकी मुलुक भारतसँग विद्युत् व्यापारका लागि नेपाल विद्युत् प्राधिकरणलाई पूर्वस्वीकृति दिएको छ । विद्युत् प्राधिकरणमा अन्तरदेशीय विद्युत् व्यापारका लागि सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

आन्तरिक उत्पादन बढी हुँदा भारतमा बेच्न सक्ने र उत्पादन कम हुँदा तत्काल छिमेकी मुलुकबाट विद्युत् ल्याउन सक्ने गरी प्राधिकरणलाई स्वीकृति दिइएको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले जानकारी दिए । सरकारको पूर्वस्वीकृति पाएपछि प्राधिकरण आफैंले प्रतिस्पर्धी मूल्यमा विद्युत् खरिद–बिक्री गर्न सक्नेछ । सरकारले यस्तो स्वीकृति भारतसहित बंगलादेशसँग पनि दिएको छ ।

प्राधिकरणले लामो समयदेखि भारतको इनर्जी एक्सचेन्ज मार्केटमा छोटो अवधिका लागि विद्युत् बिक्रीको तयारी गरिरहेको छ । भारतको यो बजारमा सेयरको खरिद–बिक्री जस्तै विद्युत्को रियल टाइममा खरिद गर्न सकिन्छ । प्राधिकरणले आफ्नातर्फबाट उक्त बजारमा प्रतिनिधित्व गर्न भारतीय एनभीभीएन लिमिटेडलाई आफ्नो नोडल एजेन्सी तोकिसकेको छ ।

सरकारको स्वीकृतिसँगै प्राधिकरणले भारतको यो बजारसँगै अन्य बजारमा पनि रियल टाइम वा डे अहेड वा टर्म अहेड मार्केटमा विद्युत् व्यापार गर्न सक्नेछ । सरकारसँग भएको सम्झौताअनुसार प्राधिकरणले सिमाना जोडिएका भारतका राज्यसँग आवश्यक पर्दा विद्युत् आदानप्रदान गरिरहेको छ ।

अब भने प्राधिकणले भारतको जुनसुकै प्रान्तमा पनि विद्युत् व्यापार गर्न सक्ने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्राधिकरणले अहिले पनि विद्युत् उत्पादन बढी हुँदा बिहारसहितका भारतीय राज्यसँग विद्युत् आदानप्रदान गरिरहेको छ ।

अहिले पनि नेपाल र भारतबीच भएको विद्युत् व्यापार सम्झौताअनुसार प्राधिकरणले अभाव भएका बेला विद्युत् खरिद गरिरहेको छ । यो विद्युत् पहिल्यै तय गरिएको मूल्य र परिमाणका आधारमा खरिद गर्ने गरिएको छ । सरकारको स्वीकृतिसँगै प्राधिकरणले प्रतिस्पर्धाका आधारमा मूल्य तय गरेर छिमेकी देशसँग विद्युत् खरिद–बिक्री गर्न सक्नेछ । रासस


ताजा खबर