ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई समितिको निर्देशन

प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले आवश्यक स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) ले तयार गरेको मापदण्ड बमोजिम ट्याक्सी व्यवसाय सञ्चालनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

स्वास्थ्य सचेतता अपनाएर सरकारले लकडाउनमा पनि केही पेसा, व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहज बनाउन भन्दै ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको हो ।

बुधबार प्रविधि समितिमा भएको छलफलमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले सार्वजनिक सवारी सञ्चालन नहुँदा समस्या भएको बताउनु भएको थियो । संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको उहाँको भनाई छ ।

आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले मजदुरहरुको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, बीमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने र बैंकहरुको किस्ता र ब्याजदरमा सहजीकरण गर्नुपर्ने बताउनुभयो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले निजी क्षेत्रका १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरु कार्यरत रहेको उल्लेख गर्दै लामो समयसम्मको लकडाउनका कारण दैनिकी चलाउन समस्या भएको बताउनुभयो ।


ताजा खबर