अमेरिकामा मलेरिया विरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीन बन्द

कोभिड-१९ को आकस्मिक उपचारमा प्रयोग गरिएको मलेरिया विरुद्धको औषधि हाइड्रोक्सीक्लोरोक्वीनको प्रयोग अमेरिकामा रोकिएको छ ।

त्यहाँको खाद्य तथा औषधि विभागले कोरोनाभाइरस संक्रमितहरुको उपचारमा यो औषधि प्रभावहीन पाइएकोले प्रयोग रोक्न भनेको हो । विभागले संक्रमितहरुमा औषधि प्रभावकारी नदेखिएको र संक्रमण थप बढ्न नदिन समेत सहयोगि नपाइएकोले प्रयोग गरिरहनु आवश्यक नभएको बताएको छ । यसअघी कोरोनाभाइरस संक्रमितहरुमा यो औषधि प्रभावकारी हुने भन्दै प्रयोग गरिदै आएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि केहि साता अघि हाइड्रोक्सीक्लोरोक्वीन कोरोनाभाइरसको उपचारमा प्रभावकारी नहुने भन्दै प्रयोग नगर्न भनेको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफू त्यही औषधि खाएर ठीक भएको भन्दै प्रयोग जारी राख्न भन्नुभएको छ ।

हाइड्रोक्सीक्लोरोक्वीन औषधि खाएकै कारण म तपाईहरु माझमा छु ह्वाइटहाउसमा ७४ बर्षीय राष्ट्रपति ट्रम्पले भन्नुभयो “धेरै मानिसहरुले अन्य असर विनानै आफूहरु ठीक भएको बताएका छन् र म निरन्तर प्रयोगको सुझाव दिन्छु” ।

एसोसिएटेड प्रेस


ताजा खबर