प्रतिनिधिसभा बैठक विशेष समय : पीसीआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण

सांसदहरूले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

उहाँहरूले विगतदेखि सो क्षेत्रमा आपराधिक घटना हुने र राजनीतिक आडमा दोषी जोगिने प्रवृत्तिलाई रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उमाशङ्कर अर्गरियाले धनुषामा पीडितले प्रहरीसमक्ष किटानी जाहेरी लिन नमान्दा शव परीक्षण हुन नसकेको र घटनाको छानबिन गरी दोषीमाथि कारबाही माग गर्नुभयो ।

सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षीदलले राम्रा काममा सदैव सरकारलाई सहयोग गरिरहेको स्पष्ट पार्दै काठमाडौँलगायत शहरमा केही दिनदेखि भइरहेको युवाको आन्दोललाई ‘प्रतिपक्षीले उचालेको भन्ने हल्ला’ निराधार भएकोे बताउनुभयो ।

सांसद प्रेम सुवालले यही जेठ ७ गते जारी गरेको नयाँ नक्साअनुसार शनिबार प्रतिनिधिसभाले संविधान संशोधन पारित गरेको र त्यस सम्बन्धमा ‘भारतको विदेश मन्त्रालयले वार्ता गर्ने समझदारी उल्लङ्घन भयो’ भनी टिप्पणी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद प्रभु साहले किसानले अहिले मलखाद नपाएको, कृषि सामग्री कम्पनीबाट हुने बिक्री वितरणमा पनि भनसुन हुने गरेको जनाउँदै क्वारेन्टाइनमा बसेकलाई पीसीआर परीक्षण छिटो हुने व्यवस्था मिलाउन माग गर्नुभयो ।

सांसद देवप्रसाद तिमिल्सिनाले प्रदेश नं २ को रौतहटमा पीसीआर परीक्षण कम हुने, रिपोर्ट ढिला आउने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै कोरोनाको उपचारमा भएको खर्चको सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद प्रदीप यादवले शनिबार पारित संविधान संशोधनपछि अब सो क्षेत्रको जग्गा कसरी फिर्ता गर्ने सम्बन्धमा ध्यान जानुपर्छ भन्नुभयो । उहाँले प्रमाण जुटाउन सरकारले गठन गरेको विज्ञ समितिमा मधेशी र जनजाति समावेश नगरेकोमा आपत्ति जनाउनुभयो ।

बैठकमा सांसदहरू लालकाजी गुरुङ, रामकुमारी चौधरी, दुर्गाबहादुर राउत र पदम गिरीले पीसीआर परीक्षण बढाउन माग गर्नुभएको थियो । रासस


ताजा खबर