पाकिस्तानका पूर्व क्रिकेटर शाहीद अफ्रिदीमा कोरोना सङ्क्रमण

पाकिस्तानका पूर्व क्रिकेटर शाहीद अफ्रिदीमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ । पाकिस्तानका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएका तौफिक उमरपछि ४० वर्षीय अफ्रिदी दोस्रो सङ्क्रमित हुनुहुन्छ । तौफिक केही दिनअघि मात्रै कोरोनामुक्त हुनुभएको छ ।

शाहीद अफ्रिदीले आफ्नो ट्वीटर हयाण्ड्लबाट आफू सङ्क्रमित भएको जानकारी दिनुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, “बिहीबारदेखि जिउ दुख्ने क्रम बढेर असञ्चो महसुस गर्दा कोभिड–१९ को परीक्षण गराएँ, दुर्भाग्यवश सङ्क्रमित हुनपुगेको छु ।” पाकिस्तानमा पहिलो श्रेणिको क्रिकेट खेल्ने दुई जना क्रिकेटर कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाएका छन् । जुन महिनाको सुरुमै लेग स्पीनर रियाज शेषले ज्यान गुमाए ।

अफ्रिदी सन् १९९६ मा पाकिस्तानको प्रतिनिधित्व गरेर पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेल्नुभएको छ । उहाँले २७ टेष्ट, ३९८ अन्तर्राष्ट्रिय एकदिवसीय र ९९ टी ट्वान्टी म्याच खेल्नुभएको छ । अफ्रिदी सन् २०११ को अन्तर्राष्ट्रिय एकदिवसीय विश्वकपमा समेत सहभागी हुनुभएको छ ।

रासस/एएनआई


ताजा खबर