एक अर्बको दूग्ध पदार्थ डिडिसिको गोदाममै थन्कियो

देशमा लकडाउन शुरु भएपछि बजारमा सामान पठाउन नसक्दा दूग्ध विकास संस्थानको मात्र करिब एक अर्ब रुपैयाँ बराबरको सामान गोदाममा थन्किएको छ ।

बजारमा दूधको खपत कम भएपछि दूध प्रशोधन गरेर बनाइएको चिज ६ सय ५० मेट्रिकटन र ९०० मेट्रिकटन पाउडर दूध बजारमा लान निसकिएपछि गोदाममै थन्किएको छ ।

नेपालमा उत्पादन हुने मध्ये ४० प्रतिशत दूध नेपाल दूग्ध विकास सस्थानले र बाँकी ६० प्रतिशत दूध निजी डेरीहरूले खपत गर्दै आएका छन् ।

संस्थानका अनुसार लकडाउन अघि दैनिक एक लाख २० हजार देखि एक लाख २५ हजार लिटर सम्म दूध बजारमा खपत हुने गरेको थियो । तर अहिले दैनिक करिब ८५ हजार लिटर दूध मात्र बजारमा बिक्री हुने गरेको छ । लकडाउनले दूध र दूधजन्य सामग्रीको खपत बजारमा घटे पनि संस्थानले कृषकबाट लिने दूध भने घटाएन । बरू बजारमा पठाएर बाँकी रहेको दूध प्रशोधन गरेर मखन, चीज, धूलो दूध जस्ता दूधजन्य सामग्री उत्पादन गरियो । फलस्वरूप यस्ता दुधजन्य सामग्री पहिलेको भन्दा बढी नै उत्पादन भयो ।

एकातिर नियमित भन्दा बढी उत्पादन हुने र अर्कोतर्फ बजारमा खपत घट्ने भएपछि अहिले गोदामको समेत समस्या भएको सस्थानले जनाएको छ । काठमाडौमा भएको गोदाम भरिएपछि कतिपय सामान हेटौडामा रहेको गोदाममा राख्न थालिएको छ । गोदाममा थन्किएका यी सामग्रीको बजार व्यवस्थापनका लागि विभिन्न निकायसंग छलफल भइरहेको संस्थानका निमित्त उपमहानिर्देशक राजेन्द्र प्रसाद अधिकारी बताउनुहुन्छ ।

सामान्य अवस्थामा तीन महिनाको अवधिमा ११ लाख मेट्रीकटन दूध संकलन भएर ७ लाख मेट्रीकटन दूध खपत हुने गरेको राष्ट्रिय दूग्ध विकास सस्थानलले जनाएको छ ।

तर लकडाउनका कारण अहिले करिब ५ लाख ७० हजार मेट्रीकटन दूध संकलन भएर जम्मा ४ लाख मेट्रीकटन दूध मात्र बजारमा खपत भएको छ ।

नेपालमा बार्षिक २२ लाख मेट्रीकटन दूध उत्पादन हुने गरेको छ ।    रासस


ताजा खबर