महामारीकै वेला मैदान फर्किएको ला लिगामा रंगशालाबाहिर जम्मा भए सयौँ फ्यान

कोभिड १९ महामारी फैलिएपछि रोकिएको ला लिगा मैदान फर्कँदा पहिलो खेलमा सेभिलाले रियल बेटिसलाई २-० गोलले पराजित गरेको छ । खाली रंगशालामा खेलाइएको खेल हेर्न गेटमा सयौँ फ्यान जम्मा भएका थिए ।

तीन महीनापछि चालु लिगको सेभिल्ले डर्बीमा सेभिल्लाका तर्फबाट लुकास ओकाम्पोस र फर्नान्डोले गोल गरेका थिए । अंक तालिकामा सेभिल्ला तेस्रो र रियल बेटिस १२औँ स्थानमा छन् । बलमाथि भने रियल बेटिसको नियन्त्रण बढी थियो । बेटिसले ५४ प्रतिशत नियन्त्रण गरेको थियो ।

खेल सुरु हुनुअघि महामारीमा मृत्यु हुनेको सम्झनामा मौनधारण गरिएको थियो । तीन महीनापछि खेल हुँदा मैदानमा खाल्डा पर्ने लगायत समस्या देखिएको थियो ।

सेभिल्लाको घरेलु मैदान रामोन सान्चेज पिजुयम स्टेडियम बाहिर जम्मा भएका फ्यानलाई भित्र प्रवेश गर्न दिइएको थिएन । महामारीपछि खेल चालू गर्ने ला लिगा युरोपका पाँच ठूलो लिगमध्ये दोस्रो हो । यसअघि जर्मनीको बुन्डेस लिगा सुरु भइसकेको छ ।

बुन्डेस लिगामा दर्शन नभए पनि दर्शकको आवाज र हल्लाखल्ला कृत्रिम रुपमा गराइएको छ । तर, ला लिगा भने खेल अवधिभर सुनसानजस्तै हुन्छ ।

बुन्डेस लिगामा अधिकांश गोलपछि खेलाडीले नछोइ ‘सेलिब्रेसन’ गरिरहेका छन् । तर, ला लिगामा पहिलो गोलपछि नै खेलाडीले सामूहिक अंकमाल गरेरै खुसी मनाए । रोयटर्स


ताजा खबर