टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्ड ‘आइएसओ १५१८९ः २०१२’ को मान्यता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ ।

अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो ।

नेपालस्थित सङ्गठनका प्रतिनिधि डा सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा रुना झालाई आज यहाँ आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ । यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला रहेका छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झा

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९)को लडाइँ लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताउनुभयो । उहाँले पहिले दैनिक सयमात्र गरिने कोभिड–१९ को परीक्षणलाई हजारको सङ्ख्यामा प्रयोगशालाले पुर्याएको समेत बताउनुभयो ।

मन्त्री ढकालले कोभिड–१९ बाट मुलुक आक्रान्त नभएको भए यतिबेला स्वास्थ्य सेवामा सुधार आएको अनुभूति नागरिकलाई दिलाउने सकिने बताउनुभयो । उहाँले अहिले मन्त्रालय विशिष्ट श्रेणीका कर्मचारीका सरुवा सहमतिकै आधारमा गरिएकाले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गर्नुभयो ।

प्रमाणपत्र बुझ्दै प्रयोगशालाकी निर्देशक डा झाले प्रयोगशालाका कर्मचारीको अथक प्रयासले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको बताउनुभयो । उहाँले पाँच वर्षदेखि नै प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कोशिस गरे तापनि औपचारिक रुपमा एक वर्षअघिदेखि काम गरिएको उल्लेख गर्नुभयो ।

प्रमाणपत्र दिनुभन्दा अगाडि भारत, दुवई र न्यूजिल्याण्डबाट आएका विज्ञहरुको टोलीले प्रयोगशालामा भएका विविध कुराको अध्ययन अनुसन्धान गरेका थिए । गुणस्तर तथा तालिम शाखा प्रमुख लिली श्रेष्ठले गत साउनदेखि मान्यता पाउनका लागि आफूहरुले प्रक्रिया शुरु गरेको बताउनुभयो ।

यसअघि कोभिड–१९ का पहिलो सङ्क्रमित युवाको स्बावको नमूना परीक्षण गर्नका लागि हङ्कङ पठाइएको थियो । प्रयोगशालाका निर्देशक डा झाले प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाए पनि भौतिक पूर्वाधारमा कमजोर रहेकाले नयाँ भवन बनाएर व्यवस्थित बनाइने बताउनुभयो ।

कार्यक्रममा आइएसओका प्रतिनिधि डा जोशीले विभिन्न अध्ययन अनुसन्धान गरेर नै प्रयोगशालाको अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता दिएको बताउनुभयो । उहाँले अब यही प्रयोगशालाले परीक्षणको रिपोर्ट दिएपछि अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने बताउनुभयो ।

मन्त्रालयको प्रमुख जनस्वास्थ्य विशेषज्ञ डा रोशन पोखरेलले सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मान्यता पाउने खुशीको कुरा भएको बताउनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले कोभिड–१९ रोकथाम र नियन्त्रणमा सफलता प्राप्त गरिने बताउनुभयो । प्रयोगशालामा वर्षेनी करिब एक लाखभन्दा बढी परीक्षण गरिँदै आइरहेको छ ।  रासस


ताजा खबर