संविधान संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ प्रस्तुत गर्दा ‘हुन्न’ भन्ने आवाज सुनिएन ।

बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । सभामुखले स्वीकृत भएको घोषणा गर्दा सदनमा तालीको गडगडाहट चलेको थियो ।

विधेयक अनुमोदन भएसँगै अब सांसदहरूले विधेयकमाथि संशोधन दर्ता गराउन पाउनेछन् । प्रतिनिधि सभा नियमावलीअनुसार संशोधनका लागि ७२ घण्टाको समय हुनेछ । संशोधन प्राप्त भएपछि सभामुखद्वारा प्रमाणित गरेर पुनः सदनमै पेस हुनेछ । आवश्यकताअनुसार प्रतिनिधि सभाले संशोधन विधेयकमा दफावार छलफलका लागि विशेष समितिसमेत गठन गर्न सक्नेछ । विशेष समिति गठन नगरी प्रतिनिधि सभामा नै दफावार छलफल र पारितको प्रक्रिया प्रारम्भ पनि हुन सक्नेछ ।

त्यसअघि सैद्धान्तिक छलफलमा भाग लिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद कृष्णभक्त पोखरेलले संविधानको धारा ५२ ले राष्ट्रहितविपरीत दण्डनीय हुने भनिएकाले आपत्तिजनक रूपमा अभिव्यक्ति दिने सांसदलाई कारबाहीको माग गर्नुभयो । नक्सा परिवर्तनमा भारतको पनि सहमति हुनुपर्छ भन्ने सांसदकै भनाइ आपत्तिजनक रहेको पोखरेलले बताउनुभयो ।

नेपाली काँग्रेसका सांसद बालकृष्ण खाँणले पार्टी निर्णयअनुसार नै संशोधनका पक्षमा उभिने बताउनुभयो । खाँणले काँग्रेसका हरेक सरकारले सीमा विवादमा स्पष्ट धारणा राखिसकेकाले पनि स्पष्ट पार्नुभयो । यस्तै समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले आन्तरिकसँगै बाह्य राष्ट्रियता पनि एकजुट हुनुपर्ने बताउनुभयो । राष्ट्रिय सार्वभौमसत्ताका विषयमा कुनै पनि शक्तिसँग सम्झौता हुन नसक्ने उहाँको भनाइ छ । यस्तै छलफलमा सांसद गङ्गा चौधरी सत्गौवाले नेपालका माननीयले भारतको चिन्ता गरेको भन्दै पनि जनाउनुभयो । तर व्यक्तिगत आक्षेप लगाइएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले भने बीचमै रोक्नुभयो । सांसद चौधरीले ग्रेटर नेपालको नक्सा सार्वजनिक गर्न पनि सरकारसँग माग गर्नुभयो ।

सांसद पुष्पा भुसालले काँग्रेस संशोधनको पक्षमा रहेको बताउनुभयो । भुसालले संविधान संशोधन राष्ट्रिय मुद्दा हुने र राष्ट्रको प्रतिबद्धता भएको बताउनुभयो । सर्वसम्मत रूपमा विधेयक पारितको अवस्था बनाउन पनि उहाँले माग गर्नुभयो । यस्तै सांसद लक्ष्मणलाल कर्णले राष्ट्रियतामा आफूहरूलाई शङ्का नगर्न आग्रह गरे । सांसद कर्णले सत्तापक्षबाटै आफूलाई गम्भीर विषयमा होच्याउने प्रयास गरेको टिप्पणी गर्नुभयो ।

सांसद गगन थापाले अस्ट्रेलिया र चीनसँग तत्काल वार्ता गर्न सक्ने भारतले नेपाललाई कोरोना देखाएर टारेको बताउनुभयो । नेपाली भूभागबाट विदेशी सेना हटाउने कार्य सहज नभए पनि असम्भव नभएको उहाँको भनाइ छ । उहाँले वार्ताबारे भइरहेका तयारीमा सदनलाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद खगराज अधिकारीले लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्र ऐतिहासिक तथ्यकै आधारमा नेपाली भूभाग भएको बताउनुभयो । अधिकारीले भूमि विवादमा सङ्कल्प प्रस्ताव दर्ता भएको जनाउँदै उहाँले छलफलका लागि आग्रह गर्नुभयो । उहाँले सदनमा विचाराधीन सबै सङ्कल्प प्रस्तावलाई एकै बनाउन पनि आफूहरू तयार रहेको बताउनुभयो ।

सैद्धान्तिक छलफलमा सांसद दुर्गा पौडेल, मीनेन्द्र रिजाल, प्रेम सुुवाल, शान्ता चौधरी, डिला सङ्ग्रौला, मानबहादुर विश्वकर्मा, गौरीशङ्कर चौधरी, सुजाता परियार, बिन्दा पाण्डे, देवप्रसाद तिमिल्सिना, आशाकुमारी विक लगायतले संशोधन प्रस्तावमा समर्थन गर्नुभएको थियो ।   रासस


ताजा खबर