मेलम्चीको पानी वितरण गर्न पूर्वाधार निर्माण पूरा

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी घर घरसम्म वितरण गर्न आवश्यक तयारी लगभग पुरा भएको छ ।

अधिकांश स्थानमा सबै खालका पाइप जडान तथा रिजर्भ ट्याङ्की निर्माणलगायत काम सकिएको छ । मेलम्ची खानेपानी विकास समितिले असार मसान्तसम्ममा खानेपानी झार्ने तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालय वितरणका लागि आवश्यक तयारीमा लागेको हो ।

बन्दाबन्दीको समयमा समेत आवश्यक स्वास्थ्य सावधानी अपनाएर काम भइरहेको निर्देशनालयका प्रमुख भोजविक्रम थापाले बताउनुभयो । आवश्यक सामग्री र जनशक्ति पर्याप्त नभए पनि उपलब्धबाट सकेसम्म काम भइरहेको उहाँले बताउनुभयो ।

समितिले असार मसान्तसम्ममा निर्माण सकाए पनि काठमाडौँ उपत्यकावासीले पानी खान भने अझै केही समय लाग्न सक्छ । निर्माण सम्पन्न भएपछि पहिले सुरुङको परीक्षण गरिने उहाँले बताउनुभयो । सुरुङमा परीक्षणका लागि सातदेखि १० दिनसम्म लाग्नेछ ।

सुरुङमा पानी पठाएर परीक्षण गर्दा कुनै पनि किसिमको समस्या देखिएमा तत्काल त्यसको मर्मत हुनेछ । सुरुङको परीक्षण भएर प्रशोधन केन्द्रमा पानी आएपछि अहिले बिच्छ्याइएका पाइपहरुको परीक्षण हुनेछ । अहिले बिच्छ्याइएका नयाँ पाइपको वाग्मतीको पानी पठाएर परीक्षण भइरहेको छ ।

पाइप परीक्षणका लागि दैनिक ४० देखि ५० लाख लिटरसम्म पानी आवश्यक पर्ने प्रमुख थापाले बताउनुभयो । अहिलेसम्म प्रयोगमा नआएका पाइपलाई निर्मलीकरणको काम पनि त्यसपछि हुनेछ ।

उपत्यकामा पानी आएपछि नयाँ पाइपको निर्मलीकरण, परीक्षणलगायतका काम हुँदा वितरणको काम पनि सँगसँगै हुने उहाँले बताउनुभयो । केही समयसम्मको तयारी सकिएपछि उपत्यकामा उपलब्ध हुने सबै पानी वितरण हुनेछ ।

निर्देशनालयले अहिलेसम्म सबै किसिमको गरी झण्डै एक हजार २०० पाइप बिच्छ्याइसकेको छ । १० स्थानमा रिजर्भ पानी ट्याङ्कीको निर्माण भइसकेको छ । भक्तपुरको कटुञ्जे, चक्रपथको बल्खुलगायतका केही स्थानमा मात्रै पाइप बिच्छ्याउन बाँकी छ ।

नारायणहिटी दरबार क्षेत्रलगायतका केही स्थानमा पनि पोइन्ट जोड्न बाँकी छ । उहाँले भन्नुभयो, “त्यहाँका स्थानीयवासीले पहिले पानी आएपछि मात्रै जोड्न दिने भनेपछि अहिलेसम्म जोड्न नसकिएको हो ।”

बोर्डले हेलम्बुस्थित निर्माणस्थलमा सुरुङमार्ग, हेडबक्स निर्माण र सुन्दरीजलमा दुई प्रशोधन केन्द्र निर्माण गरेको छ । निर्देशनालयले प्रशोधन केन्द्रबाट विभिन्न स्थानमा रिजर्भ ट्याङ्की हुँदै पोखरीसम्म पानी पठाउन आवश्यक संरचना निर्माण गरेको छ । पानी काठमाडौँमा झरेपछि निर्देशनालयले नयाँ पाइपको परीक्षण गर्नेछ भने काठमाडौँ केयुकेएलले पानी वितरण गर्नेछ ।

निर्देशनालयले सन् २०११ देखि आयोजनाले मुख्य, सहायक र वितरण पाइप बिच्छ्याउने काम गरिरहेको छ । पानी सङ्कलनका लागि विभिन्न १० स्थानमा ट्याङ्की निर्माण गरिएकामा भक्तपुरको कटुञ्जेबाहेक अरु स्थानमा सम्पन्न भइसकेको छ । मेलम्चीको पानी दुई चरणमा गरी काठमाडौँ उपत्यका ल्याउन लागिएकामा अहिले पहिलो चरणमा भित्रने १७ करोड पानी वितरण हुनेछ ।

पहिलो चरणमा चक्रपथभित्रका एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ । उपत्यकामा फोहरपानीको मात्रा बढ्ने भएकाले फोहर पानी प्रशोधनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको हो ।

मेलम्चीको पानी आएपछि त्यसको व्यवस्थापनका लागि आयोजनाले नै चार स्थानमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिरहेको छ । गुह्यश्वरीस्थित केन्द्र सञ्चलनमा आइसकेको छ भने सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा निर्माणाधीन छ । आयोजनाअन्तर्गत नै पाइप विस्तारका लागि खनिएका सडक मर्मतका कामसमेत निर्देशनालयले गरेको छ ।

सडक विभागको अधिकार क्षेत्रअन्तर्गत पर्ने सडक विभागले र स्थानीय तहको अधिकार क्षेत्रमा पर्ने सडकको मर्मतको काम निर्देशनालयले गरेको आयोजनाले जनाएको छ ।

झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको थिएन । यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो । सो कम्पनीले निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको निर्माणको काम सकिँदा वितरणका लागि आवश्यक पूर्वाधार निर्माण निर्देशनालयले गरिरहेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्षको शुरुमै उपत्यकामा पानी आइसक्ने बताउँदै आएको छ ।

आगामी आवमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय संसद् प्रतिनिधिसभाका सांसदले उठाएका प्रश्नको आज जवाफ दिँदै मन्त्री बीना मगरले मेलम्ची आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको बताउनुभएको थियो । आगामी आवको शुरुमै मेलम्चीको पानी सुरुङमा परीक्षण गरी उपत्यकामा वितरण गरिने उहाँको भनाइ थियो । रासस


ताजा खबर